
दोहा कतार : नेपालको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित मधेश प्रदेशबाट कतारमा आइ बसोबास गरिरहेका नेपालीहरूको साझा सामाजिक संस्था मधेश प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको सर्लाही जिल्ला कौडेना गाउँपालिका ५ निवासी कलाम हुसेन खान अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार दोहाको फिरिज अब्दुल अजिजमा रहेको घरवा रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष दुर्गा नन्द पासवान,उपाध्यक्षहरू क्रमशः मोहमद अजाद मन्सुरी, रमेश साह र दीपेन्द्र कुमार महरा, महासचिव इसिलाल पण्डित, सचिवहरू क्रमशः जीवन न्यौपाने, शम्भु प्रसाद यादव, प्रमोद कुमार राम, सुलेमान मियाँ, मोहमद इन्तिसार आलम, सह–कोषाध्यक्ष राम जित कामत केवट रहेका छन् ।

त्यस्तै परिषद्को कार्यसमिति सदस्यहरूमा लक्ष्मण शाह, विदुर बर्तौला, धर्मेन्द्र राउत कुर्मी, कमला परियार, अलि हैदर नदाफ, मोहमद रेजा कवारी, नाजिर नदाफ, रामनन्द राम, सोहल खान, रमजान हुसैन, अमताज हुसैन, नैन भुजेल, मोहमद मजिद, मोहमद जाबिर सिद्धकी रहेका छन् भने मोहमद अमिरुल राईन सदस्य तथा युवा संयोजकका रूपमा चयन भएका छन् ।
रमानन्द राम, विदुर बर्तौला, नैन भुजेल, लक्ष्मण साह, कमला परियार, अमताज हुसैन,रमताज हुसैन, सोहैल खान, मो.रेजा कवारी, नाजिर नदाफ अलि हैदर नदाफ रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई परिषद्का संरक्षक अध्यक्ष मोहमद शकिर अलि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
परिषद्का अध्यक्ष मोहम्मद नियाज शेखको सभाध्यक्षता तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न खुल्ला सत्रमा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघसंस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थामा विभाजन ल्याउने, पदका लागी मरिहत्ते गर्ने कार्य नगरी राजनीतिबाट टाढा राखेर सेवामुखी कार्यसम्पादनमा फोकस गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । तराईबाट विशेष गरी खाडीमा बढी श्रमिकहरू रहेको बताउँदै वक्ताहरूले कतारमा राजनितिक गतिविधि नबढाइ सामाजिक कार्यमा प्रतिबद्ध हुनुपर्ने बताएका थिए ।

तराईमा विशेष गरी देखिने धार्मिक विभेदको अन्त्य गर्न आवश्यक रहेको बताउँदै जबसम्म जातभात र घर्मको नाममा विभाजित भइरहन्छौं तबसम्म देशमा विकास नहुने धारणा राखेका थिए ।
आफ्नो शुभकामना मन्तव्य राख्दै एनसीसी कतारका भूतपूर्व अध्यक्ष रमेश भट्टले एनआरएनए आइसीसीले एक मापदण्ड बनाउनुपर्ने र मापदण्डका आधारमा एनसीसीमा एकता हुने बताए ।
एनआरएनए महेश श्रेष्ठ र र बद्री केसीको नभएको बताउँदै एनआरएनए हाम्रो संस्था भएको हुँदा गुटउपगुट नलागी अगाडि बढ्नुपर्ने धारणा राखे ।
भट्टले आइसीसीमा एकता गर्ने तर दुई वटा समानान्तर एनसीसी रहेका देशका एनसीसीलाई खारेज गर्दै नयाँ एनसीसी निर्माण गर्नेतर्फ एनआरएनए लागेको आफूले बुझेको बताए ।
वैचारिक संगठनका वक्ताहरूले जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीहरूले पदबाट राजीनाम दिएर चुनावमा होमिनु जनतालाई धोका भएको धारणा राखेका थिए । देशमा नजिँकिएको चुनावको प्रत्यक्ष रूपमा हलमा परेको आभास हुन्थ्यो । प्रत्येक वैचारिक संगठनका प्रमुखले आफ्ना दलका लागि प्रत्यक्ष अप्रत्यक्ष मत सम्म माग्न सफल देखिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले एनसीसी कतार र मधेश प्रदेशको सम्बन्ध प्रगाढ रहेको बताउँदै बोल्ने वक्ताहरू तथा स्टाटस लेख्दा कतारको कानुनको स्मरण गर्न आग्रह गरे ।
उनले व्यक्तिगत रूपमा वैचारिक विचार राखे पनि कतारको कानुनले नेपालीहरू आपसमा लडेको बुझ्ने हुँदा राजनीति गर्नै चाहाने हो भने नेपाल गएर गर्न सुझाव दिँदै सामाजिक संस्थामा राजनीति नगर्न सुझाव दिए । आफ्नो दैनिक कार्यब्यस्तताबाट बचेको समय समाजलाई दिइने हुँदा समाजमा खुराफाती नगर्न र कतारबाट भोट अपिल गर्न नमिल्ने हुँदा विचार राख्दा संयमित हुन आग्रह गर्दै यहाँको सम्बन्धित मन्त्रालयले हाम्रा गतिविधि नियाली रहेको बताए । पन्थीले मधेश भोट बैंक बनेको बताउँदै मधेश एक भएर परिवर्तनका लागि लाग्नुपर्ने बताए । उनले तराई र मधेश के हो त भन्ने बुझ्न जरुरी रहेको बताउँदै तराईमा विशेषत शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।
प्रथम उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्य राखेको खुल्ला सत्रको समापन सभाध्यक्ष नियाजले गरेका थिए । महोत्तरी जिल्ला बलवा नगरपालिका वडा नं ९ निवासी नियाजले परिषदमा २ कार्यकाल नेतृत्व गरेका थिए । उनले दुवै कार्यकालमा गरी करिब साढे पाँच वर्ष परिषद्मा बिताएर नेतृत्व हस्तान्तरण गर्दा भावुक देखिए पनि खुसी व्यक्त गरे । दोहादेखि नेपालसम्म सक्रिय परिषद्को नयाँ कार्यसमितिले थप नयाँ योजनासहित अगाडि बढ्ने विश्वास व्यक्त गर्दै लामो समयको २ कार्यकाललाई सफल बनाउन साथ र हौसला दिने सबैप्रति कृतज्ञता प्रकट गरेका थिए ।
अधिवेशनमार्फत परिषद् मातहतका जिल्ला संस्था, कार्यसमितिका पदाधिकारीहरू, नैतिक भौतिक तथा आर्थिक सहयोग गर्ने व्यक्तित्वहरूसहित पत्रकारलाई समेत सम्मान गरिएको थियो ।
दोस्रो अधिवेशनलाई थप मनोरञ्जनात्मक बनाउन कतारमा रहेका केही कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । मधेश प्रदेशभित्र आठ वटा जिल्ला रहेपनि कतारमा सिराहा जिल्लाका दुई वटा अलग अलग उद्देश्यका समितिसहित ५ वटा अन्य जिल्ला संस्था समावेश छन् । यद्यपी मधेश प्रदेशभित्र विभिन्न सामुदायिक, सांस्कृतिक र सामाजिक गरी करिब ३ दर्जन संस्थाहरु सक्रिय रहेका छन् ।
‘मधेशीहरूको एकता, आजको आवश्यकता’भन्ने मूल नारासहित परिषद्को सन् २०२१ मा स्थापना भएको हो ।