काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नयाँ नेतृत्वको निर्वाचनसहित बुधबार एघारौं साधारणसभा हुँदैछ । एशोसिएसन नेपाली काँग्रेसको सुभेच्छुक संस्था हो । राजधानीको बसुन्धरामा हुने साधारणसभाको उद्घाटन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गर्ने अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । पार्टीका सहमहामन्त्री भिष्मराज आङदम्बे, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे लगायत साधारणसभामा उपस्थित व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
साधारणसभामा भाग लिने आधिकारिक प्रतिनिधिसहित आफनो संस्थाको नवीकरण गर्नेको संख्या ३२० नजिक रहेको एशोसिएसन कार्यालय श्रोतले बतायो । एक अध्यक्षका लागि एसोसिएशनमा तीन जना व्यवसायीले दावी गरेका छन् । अध्यक्ष पदसहित कार्यसमितिमा सहमतिको अनौपचारिक प्रयास भएपनि मंगलबार अवेरसम्म सहमति जुट्न सकेको छैन । एशोसिएसनका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल, पूर्व बरिष्ठ उपाध्यक्ष ऋषि शर्मा र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष कुमुद खनालले अध्यक्षमा दावी गरेका छन् । उनीहरु प्रचारमा उत्रिएका छन् ।
अध्यक्ष ढकाल परिस्थिति अनुकूल भए दोहोरिने मनस्थितिमा रहेको भएपनि उम्मेदवारी सार्वजनिक गरेका छैनन् । साधारणसभाले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । २०६३ सालमा स्थापना भएको फोरमका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यमबहादुर केसी, किरणकिशोर घिमिरे, बिमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमिति निर्विरोध निवाचित भएका थिए । सहमति हुन नसकेपछि हंशराज वाग्ले र ढकाल निर्वाचनको माध्यमबाट चयन भएका हुन् ।
एसोसिएसनको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने भएपनि कार्यसमितिमा १९ जनाको निर्वाचन भएको हो भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । वर्तमान अध्यक्ष ढकाल भुवन सिं गुरुङ, ऋषि शर्मा र सीता देवकोटालाई पराजित गरी विजयी भएका हुन् । ढकालले १०३ मत ल्याई अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गुरुङले ५६, शर्माले ४४ मत र सीता देवकोटाले ३९ मत ल्याए ।
फोरमको वरिष्ठ उपाध्यक्षमा तारानाथ अर्याल १०४ मत ल्याई विजयी भएका थिए । अर्यालका निकटतम प्रतिद्वन्द्वी भगीरथ राई (रमेश) ले ८३ मत र अर्का उम्मेद्वार थिरमणि पौडेलले ५३ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदमा जनक खड्का (प्रकाश) सबैभन्दा धेरै १६३ मतका साथ बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी मोहनकुमार ढुंगेलले ७६ मत र अर्का उम्मेद्वार मित्र देव घिमिरे (गोपाल) ले ६१ मत प्राप्त गरेका थिए । यसैगरी महासचिव पदमा १५३ मतका साथ भवानी निरौला बिजयी भएका थिए भने उनका प्रतिस्पर्धी चिरञ्जीवी बस्यालले ८६ मत प्राप्त गरे ।
सचिव पदमा कमल काफ्ले १६० मतका साथ विजयी भएका थिए भने उनका प्रतिद्वन्दी प्रकाश बोहराले ७८ मत मात्र ल्याएका थिए । त्यस्तै कोषाध्यक्षमा १०३ मत ल्याएर कृष्ण कुमार जैशी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी सञ्जय पनेरुले ६९ मत र अर्का उम्मेद्वार इन्द्र प्रसाद आचार्यले ६७ मत मात्र ल्याएका थिए । सहकोषाध्यक्ष पदमा अमिर बाँस्तोला निर्विरोध निर्वाचित भएका थिए भने १० सदस्य पदमा इश्वर सापकोटा, नारायण भुषाल, तोरण कुमार कार्की, चन्द्र बहादुर लिम्बु, सेते लाल पौडेल, नरेन्द्रमणि पराजुली, विक्रम श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल (नवीन), राजेश गोतम र राजेश यादव निर्विरोध निर्वाचित भएका थिए ।निर्वाचॉनमा कुल २४४ मत खसेको थियो भने २ मत बदर भएको थियो ।
संभावित प्रतिश्पर्धा
अर्याल प्यानल
अध्यक्ष–तारानाथ अर्याल
बरिष्ठ उपाध्यक्ष– जनक खड्का (प्रकाश )
द्धितिय उपाध्यक्ष- विनोदजंग के सी
तृतीय उपाध्यक्ष– (टुंगो लाग्न बाँकी)
महासचिव – मेघनाथ भुर्तेल
सचिव – कृष्णप्रसाद जैसी
कोषाध्यक्ष– राजेश गौतम
शर्मा प्यानल
अध्यक्ष – ऋषि शर्मा
बरिष्ठ उपाध्यक्ष– थिरमणी पौडेल या भवानी निरौला
द्वितीय उपाध्यक्ष–नारायण पराजुली
तृतीय उपाध्यक्ष – (टुंगो लाग्न बाँकी)
महासचिव – कमल काफ्ले
सचिव – विक्रम श्रेष्ठ
खनाल प्यानल
अध्यक्ष – कुमुद खनाल
बरिष्ठ उपाध्यक्ष – भगिरथ राई (रमेश)
द्वितीय उपाध्यक्ष –मित्रदेव घिमिरे (गोपाल )
तृतीय उपाध्यक्ष- दीपक थापा
महासचिव –अमर प्रकाश तिवारी
सचिव – सन्तोष श्रेष्ठ
सह–सचिव –हर्क लिम्बू
कोषाध्यक्ष – कैलाश कार्की
सह– कोषाध्यक्ष – चन्द्र लिम्बू
सदस्य – जफरूद्विन मियाँ
वरिष्ठ उपाध्यक्षमा किशोर कुमार केसी पनि आकांक्षी देखिएका छन भने तृतीय उपाध्यक्षमा केशवराज न्यौपाने, सचिवमा लक्ष्मण पौडेल, कर्णराज कटुवाल, भोजराज भुषाल, प्रकाश बोहरा, जंग बहादुर ईजम, सहसचिवमा नवीन पोखरेल, तुल्सी पुरी, अमीर बास्तोला र सुरेश ढकालले दाबी गरेको बताइएको छ ।
कार्यसमितिका सदस्यमा हेमन्त न्यौपाने, किरण न्यौपाने, प्रेम दुलाल, मान बहादुर कुँवर, हरि केसी, यमबहादुर केसी, विष्णु सापकोटा, सुनिता श्रेष्ठ, माधव भण्डारीलगायतका व्यवसायीले इच्छा देखाएको बताइएको छ । के छन् एजेण्डा ? अध्यक्षका आकाक्षी बरिष्ठ उपाध्यक्ष अर्यालले आफू एशोसिएसनको कार्यसमितिको सदस्यदेखि महासचिव र बरिष्ठ उपाध्यक्ष भएकोले यसपटक अध्यक्षको स्वभाविक उम्मेदवार रहेको बताए । एशोसिएसन नेपाली काँग्रेसको सुभेच्छुक सस्था भएकोले वैदेशिक रोजगारका समस्या बारेमा पार्टीपंक्ति र अन्य घटक संस्थामा छलफल गराई नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मार्फत समाधान खोज्न अत्यधिक पहल गर्ने अर्यालको योजना छ ।
वैदेशिक रोजगारमा रहेका मेडिकल लगायत सबै प्रकारका सिण्डिकेट हटाउन कठोर कदम अघि बढाउने, रोजगारदाताबाट सेवाशुल्क नपाएको अवस्थामा कामदार पठाउने अन्य मुलुकका एजेन्सीले पाउने सरहको सेवा शुल्कका लागि प्रयास गर्ने विषयलाई पनि उनले प्राथमिकता दिएका छन् । कोभिडका कारणले वैदेशिक रोजगार क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपनि सो अनुसारको सुविधा नपाएकोले त्यसका लागि पहल गर्ने , वैदेशिक रोजगार ऐन र नियमावलीलाई व्यवसायी मैत्री र कामदारका कर्तव्य तोक्ने गरि परिमार्जन गर्न संघ मार्फत पहल गर्ने पनि उनले बताएका छन् ।
संघमा संघका पूर्व अध्यक्षको संयोजकत्वमा तदर्थ कार्यसमिति गठन भएकोले सकेसम्म छिटो साधारणसभा र नयाँ कार्य समितिको निर्वाचन गराउने वातावरणका लागि एशनेसिएसनका तर्फबाट आवश्यक परामर्श र पहल गर्ने पनि उनको योजना छ । अध्यक्षका अर्का आकाक्षी शर्माले आफू विगत दुई दशकदेखि निरन्तर पेशामा रहेको, विगतमा उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालेको, संघको निर्वाचनमा तिलकबहादुर रानाभाटको पालादेखि नै लोकतान्त्रिक पक्षधरलाई जिताउन निस्वार्थ रूपमा खटेको, सबै पक्षसँग समन्वयकारी भुमिका निभाउन सक्ने भएकोले एशोसिएसनका पूर्वअध्यक्ष, सल्लाहकार वर्तमान कार्यसमितिको समर्थन रहेको दाबी गरे ।
उनले अध्यक्षमा निर्वाचित भएपछि अत्यन्तै अव्यवहारिक मानिएको संख्या सयको समस्याको स्थायी समाधान खोज्ने, सेवा शुल्क परिमार्जन गरि दक्षिण एशियाली मुलक सरह बनाउन पहल गर्ने, मागपत्र प्रमाणिकरणमा रहेको समस्यादेखि बेलाबेलामा उत्पन्न हुने समस्याहरूको समाधानका लागि मातृपार्टी नेपाली काँग्रेस, मन्त्रालय विभाग र अन्य संघसंस्थासंग छलफल समन्वय र पहल गर्ने बताए । शर्माले आफू नेपाली काँग्रेसको सिद्धान्त र आदर्शमा निरन्तर प्रतिवद्ध र क्रियाशील रहेकोे भन्दै नेपाली काँग्रेसको गत महाधिवेशनमा सुर्खेतबाट अत्यधिक लोकप्रिय मतले महाधिवेशन प्रतिनिधिमा छानिएका कारणले पनि अन्य प्रतिश्पर्धीले भन्दा आफुले एशोसिएसनलाई सशक्त र प्रभावकारी र नवीन सोचका आधारमा नेतृत्व दिनसक्ने आत्मविश्वास रहेको बताए ।
उनले भने, ‘म कानूको विद्यार्थीपनि भएकोले समस्याहरूको जटिलता र समाधान बुझेको छु अन्य प्रतिश्प्रधीले भन्दा एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्छु ।’ अध्यक्षका आकांक्षी कुमुद खनालले आफ्नो उम्मेदवारी परिवर्तनको लागि भएको बताए । ‘केही व्यवसायीहरूले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई बन्दी जस्तो अवस्थामा पुराएको अनुभव व्यवसायीलाई भएको छ’, खनालले भनेका छन् ।
उनले उचित नेतृत्व नहुँदा निसास्सिएको, कुनै निकास नभएको जस्तो व्यवसायीलाई लागेपछि स्वतस्फूर्त रूपमा नयाँ प्यानल बन्न पुगेको बताए । संघमा पारदर्शिताको अभाव भएको भन्दै उनले सूचनाको शेयरिङ र केयरिङ नभएको बताए । ‘व्यवसायको केन्द्रीय तत्वका रूपमा आम वैदेशिक रोजगार व्यवसायी रहेका भएपनि उनीहरूसँग सुधारका लागि कुनै राय सुझाव लिने काम भएन’, उनले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies