
दोहा, कतार : कतारमा रहेका भुजेल समुदायको साझा संस्था प्रवासी भुजेल समाज कतारले आठौं महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । आउँदो शुक्रबार सनैयाको प्लाजा मलमा अवस्थित जिम्बु थकाली रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने अधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याइएको समाजले जनाएको छ ।
विविध सांगीतिक प्रस्तुति पनि रहने अधिवेशनलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी भुजेल तथा गैर भुजेल नेपालीहरूलाई समाजले आग्रह गरेको छ । अधिवेशनलाई लक्षित गर्दै साधारण तथा आजीवन सदस्यता लिन चाहने व्यक्तिहरूले महाधिवेशनको खुला सत्रसम्म सचिवालयमा सम्पर्क गरेर लिने सकिने व्यवस्था मिलाइएको अध्यक्ष विकास भुजेलले मध्यान्ह दैनिकलाई जानकारी दिए । “कतारवासी सम्पूर्ण भुजेलहरूलाई आफ्नो धर्म, संस्कार, संस्कृति र जातीयप्रति ऐक्यबद्धता जनाउँदै समाजमा आबद्ध हुन हार्दिक अनुरोध गर्दछौं,” भुजेलले अनुरोध गरेका छन् ।
समाजले कार्यक्रममा उपस्थितिका लागि कतारमा स्थापित सम्पूर्ण सामाजिक संघ, संस्था, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियान्ता, कलाकारको साथै मिडियाकर्मी पत्रकारहरू सबैलाई आग्रह गरेको छ ।
