
अर्घाखाँची : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै अर्घाखाँचीमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको दौडधुप बढेको छ । उम्मेदवारहरूले जनताको घरदैलोमा पुगेर मत माग्न थालेसँगै गाउँघरमा चुनावी माहोल सुरु भएको छ ।
हाल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारहरू दैनिक रूपमा जनतालाई भेट्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । अर्घाखाँची जिल्लामा ६ पालिका र ६१ वडामा चुनावी तयारी अगाडि बढाइएको छ ।
नेपाली कांग्रेस अर्घाखाँचीले माघ १३ गतेदेखि गाउँ केन्द्रित कार्यक्रममार्फत जनताको घरदैलोमा पुगेर मत माग्न थालेको छ । कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार बिष्णु प्रसाद खनाल‘मुस्कान’शिक्षक जागिर छाडेर पार्टीमा ४० वर्षभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका र पार्टीभित्र दागमुक्त प्रखर नेता हुन् । उनी २०७४ सालमा प्रदेश सांसद पदको लागि उम्मेदवार भइसकेका थिए ।
नेकपा एमालेले पार्टी अध्यक्ष पिताम्बर भुसाललाई पहिलोपटक उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य रामबहादुर चौहानलाई उम्मेदवार बनाएको छ । यी दुबै उम्मेदवार पहिलोपटक चुनावी मैदानमा होमिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति हरिप्रसाद भुसाललाई उम्मेदवार बनाएको छ । भुसालको यो तेस्रो निर्वाचन प्रतिस्पर्धा हो र उनी सन्धिखर्कमा व्यापार गर्दै आएका युवा नेता हुन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता टोपबहादुर रायमाझी र प्रदेशसभा १ मा चेतनारायण आचार्य, २ मा रामजी प्रसाद घिमिरे विजयी भएका थिए । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ४ पालिकाका प्रमुख र २ उपप्रमुख जितेको थियो ।
अहिले गाउँ फर्केका नेताहरूको सक्रियता र प्रचारसँगै अर्घाखाँचीका स्थानीय नागरिकहरू कुन दललाई मत दिने भन्ने बहसमा व्यस्त छन् ।
अर्घाखाँचीमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यस निर्वाचनमा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदाता छन्, जसमा पुरुष ८७ हजार १ सय ५७ र महिला ८४ हजार ४ सय ९५ जना छन् । जिल्लाभरी १ सय २१ मतदान स्थल र २ सय ९ मतदान केन्द्रमा कर्मचारी खटाउने तयारी अन्तिम चरणमा पुगेको छ ।