२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

तल्लो सेती जलविद्युत् आयोजनाको पूर्वतयारी : पहुँच मार्ग निर्माण प्रक्रिया सुरु

shivam cement
२०८२ माघ १८ गते १३:०६
Shares
तल्लो सेती जलविद्युत् आयोजनाको पूर्वतयारी : पहुँच मार्ग निर्माण प्रक्रिया सुरु

काठमाडौँ : तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको पूर्वतयारीका काम अघि बढाइएको छ । आयोजनास्थलसम्म पहुँच सुनिश्चित गर्न आवश्यक सडक निर्माण तथा कार्यालय स्थापना कार्य सुरु गरिएको सम्बन्धित निकायले जनाएको छ ।

हाल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले उक्त आयोजनाबाट नियन्त्रित रूपमा बग्ने पानी तथा मादी नदीबाट थप प्राप्त हुने पानीको उपयोग गर्दै तल्लो सेती आयोजना विकास गर्न लागेको हो । तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार पहुँच सडक निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीले प्रारम्भिक भौतिक संरचना निर्माण थालेको छ ।

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने जग्गा अधिग्रहणसम्बन्धी प्रक्रिया पनि अघि बढाइएको छ । आयोजनाका संरचना निर्माणका लागि आवश्यक निजी जग्गा अधिग्रहण गर्न प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको जनाइएको छ ।

योजनाअनुसार बन्दीपुर गाउँपालिका-६ तथा देवघाट गाउँपालिका-३ अन्तर्गत सेती नदी क्षेत्रमा करिब ३२ मिटर उचाइको बाँध निर्माण गरिनेछ । बाँधमा संकलित पानीलाई देवघाट गाउँपालिका-३ र ४ हुँदै करिब ६.८ किलोमिटर लामो सुरुङमार्फत कालीगण्डकी र सेती नदीको संगम क्षेत्रभन्दा करिब ५०० मिटर तल पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा निर्माण हुने अर्धभूमिगत विद्युत्गृहमा पुर्‍याई विद्युत् उत्पादन गर्ने योजना रहेको छ ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका-६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका-२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६ तथा भरतपुर महानगरपालिका-२९ का केही क्षेत्र प्रभावित हुनेछन् । विद्युत्गृह देवघाट-४ गाईघाट क्षेत्रमा निर्माण गरिनेछ ।

उत्पादन हुने विद्युत् तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी क्षमताको दमौली–नयाँ भरतपुर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समावेश गरिनेछ । यसका लागि करिब दुई किलोमिटर लामो अतिरिक्त प्रसारण लाइन निर्माण आवश्यक पर्नेछ ।

अर्धजलाशययुक्त संरचनामा विकास गरिने तल्लो सेती आयोजनाको जलाशय बाँधस्थलदेखि सुँडेगाउँसम्म करिब १२ किलोमिटर फैलिनेछ । आयोजनाबाट वार्षिक रूपमा करिब ५२ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको कुल अनुमानित लागत करिब २५ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीले विद्युत् उत्पादनसम्बन्धी सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै एशियाली विकास बैंक (एडिबी) को करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगमा विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्न परामर्श सेवा खरिदका लागि वाप्कोस भारत र निप्पन कोई जापान संयुक्त उपक्रमसँग वि.सं. २०७५ चैत २९ गते सम्झौता सम्पन्न भइसकेको छ ।

सम्बन्धित खबर