
काठमाडौं : अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम) अन्तर्गत नेपालमा कार्यरत राष्ट्रिय समिति आइकम नेपालको नवौँ वार्षिक साधारण सभाबाट रमेशप्रसाद दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
माघ १६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले ओमप्रकाश घिमिरेलाई सचिव र सन्तबहादुर गुरुङलाई कोषाध्यक्षमा चयन गरेको हो । समितिका अन्य सदस्यहरूमा डा. पशुपति न्यौपाने, रोशन मिश्र, शान्ता चौधरी, पवित्रा थपलिया, सन्तोषकुमार सुवेदी र ख्यामप्रसाद शिवाकोटी रहेका छन् ।
नवनिर्वाचित सचिव ओमप्रकाश घिमिरेका अनुसार आगामी दिनमा नेपालका संग्रहालयहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यसमिति अघि बढ्नेछ । विशेषगरी स्थानीय तहमा सञ्चालन भइरहेका साना संग्रहालयहरूलाई मापदण्ड र मानकका आधारमा सक्षम र स्तरयुक्त बनाउनेतर्फ प्राथमिकता दिइने उनले बताए ।
नयाँ कार्यसमितिले आगामी तीन वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ । हाल आइकम नेपालमा १९ वटा संग्रहालय संस्थागत सदस्य तथा ५१ जना व्यक्तिगत सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।
आइकम नेपालले नेपालमा सङ्ग्रहालय क्षेत्रको विकास, ज्ञान निर्माण, पैरवी तथा क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइकमका विश्वभर १२० भन्दा बढी देशमा राष्ट्रिय समितिहरू सक्रिय छन्, जसमा नेपाल पनि पछिल्ला वर्षहरूमा थप सक्रिय देखिएको छ ।