२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारमा हुने सोनाम ल्होछारसम्बन्धी कार्यक्रममा विश्व र मिनाले प्रस्तुति दिँदै

shivam cement
तिलु शर्मा पौडेल
२०८२ माघ १९ गते १८:३५
Shares
कतारमा हुने सोनाम ल्होछारसम्बन्धी कार्यक्रममा विश्व र मिनाले प्रस्तुति दिँदै

दोहा, कतार : लोकप्रिय लोक तथा सेलो गायक संगीतकार विश्व दोङ र चर्चित म्हेन्दोमाया गायिका मिना लामा कतार आउने भएका छन् । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले तामाङ समुदायको महान् पर्व मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा आयोजना गर्न लागेको बृहत् सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनीहरू कतार आउन लागेका हुन् ।

दोङका पछिल्लो समय साइँलो म चारघरे, तामाङ सेलो क्या दामी र केराको पातले भुइँ छुन्छ गीत ट्रेन्डिङमा रहेका छन् । त्यसका अलवा उनका दर्जनौं नेपाली तथा मातृभाषाका गीत चर्चामा रहेका छन् । आगामी शुक्रबार अर्थात् फेब्रुअरी ६ मा कतारको मुन्तजा पार्क नजिक रहेको पर्लिङ स्कुलको सभा हलमा आयोजना हुने कार्यक्रमको तयारी लगभग पूरा भएको कार्यक्रम संयोजक दिलकुमार तामाङले जानकारी दिए ।

कतारमा रहेका दर्जनौं कलाकारको समेत प्रस्तुति रहने कार्यक्रम आफ्नो कला र संस्कृतिलाई जुन सुकै देशमा पुगे पनि भुल्नु हुँदैन भन्ने मान्यताका साथ घेदुङले हरेक वर्ष ल्होछार मनाउँदै आएको अध्यक्ष फुर्वा ग्याबा तामाङले बताए । उनले ल्होछारलाई यो पटक विगतमा भन्दा थप भव्य रूपमा मनाउने र तामाङहरूको संस्कृति झल्कने खालको झाँकीहरू समेत प्रस्तुत गरिने जानकारी दिए ।

कतारमा रहेका सम्पूर्ण तामाङसहित कतारमा स्थापित विभिन्न सामाजिक संघ, संस्था, बुद्धिजीवी तथा समाजसेवीहरूलाई कार्यक्रममा उपस्थित भएर सफल बनाइदिन आयोजकले आग्रह गरेको छ । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा सहभागी हुन चाहनेहरूलाई कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको व्यवस्था रहेको हुँदा यातायातका लागि संयोजक बुद्ध तामाङलाई ३१४७४२६७ मा सम्पर्क गर्न आयोजकले एक सूचनामार्फत आग्रह गरेको छ ।

भिक्टोरिया गोल्ड एन्ड डाइमन्डले मुख्य प्रायोजन गरेको कार्यक्रममा घेदुङकै भ्रातृ संस्थाहरू नेपाल तामाङ महिला घेदुङ, युवा घेदुङ, सांस्कृतिक घेदुङ, ताम्बा घेदुङ र लामा घेदुङ सह आयोजकका रूपमा रहेका छन् । मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रमको सञ्चार सहयोगीका रूपमा रहेको छ ।

सम्बन्धित खबर