
दोहा कतार : कतार भ्रमणमा रहेका म्याग्दी जिल्ला बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्ण सिंह बानियाँ र म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा बेलायतका स्थापित व्यवसायी किसान जिसी मोना कतारमार्फत सम्मानित भएका छन् । बिहीबार साँझ मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा वडाध्यक्ष बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न स्नेह मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममार्फत मायाको चिनोसहित उनीहरू सम्मानित भएका हुन् ।

कार्यक्रममा बोल्दै व्यवसायी तथा उपाध्यक्ष जिसीले न्यून परिवारको मानिस भएको र आफू धनाढ्य व्यक्ति नभएको हुँदा आफू सन् २०१३ बाट मोना बेलायतमा आवद्ध रहँदै मोनाको यात्रा तय गरेको स्मरण गरे । आफ्नो दैनिक कार्यसँगै मोनामार्फत समाजसेवामा जोडिन पटक –पटक प्रयास गरेसँगै अहिले उपाध्यक्षमा रहेको बताउँदै मोनामा आफ्ना उतारचढावका बारेमा बोलेका थिए । अरू बेला मौन बस्ने तर महाधिवेशनका बेला तातिने मोनाका निवर्तमान अध्यक्षहरूका कारण सही ठाउँमा सही भिजन भएको मानिस पुग्न नसकिरहेको स्पष्ट पारे ।

सम्मान ग्रहण लगत्तै आफ्ना धारणा राख्दै प्रमुख अतिथि बानियाँले वडाध्यक्ष रूपमा जनतामा भिज्दै अगाडि बढेको बताउँदै भैंसीले किलो उक्काउँदा पनि जनतालाई समाधान निकाल्दिन सेकमा मात्र जनप्रिय बन्न सकिने धारणा राखे । बानियाँले आफ्नो राजनीतिक यात्रालाई बिट मारेर वैदेशिक यात्रा तय गर्नेतर्फ संकेत गरे ।
मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्कीले मिलेर समाजसेवा गर्ने हो, त्यसकारण कसैले पनि सामाजिक संस्थामा पैसाको दम्भ देखाउन नहुने बताए । कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष लगायतका वक्ताहरूले आफ्ना धारणा राखेका थिए । वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव शिव खड्काले सहजीकरण गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष भण्डारीले मोनामार्फत जिल्लामा लगानी भित्र्याउन र मोनालाई विवादरहित सामाजिक संस्था बनाउन आवश्यक रहेको बताए ।
