२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारमा मनाइयो सोनाम ल्होछार (फोटो फिचर)

shivam cement
तिलु शर्मा पौडेल
२०८२ माघ २४ गते २१:१६
Shares
कतारमा मनाइयो सोनाम ल्होछार (फोटो फिचर)

दोहा, कतार : साँझको करिब पौने ६ बजेसम्म मुन्तजा नजिकको पर्लिङ स्कुलको सभा हल हजारौं दर्शकले भरिएका मात्र थिएनन् उनीहरूले नेपालबाट कतारसम्म आएका लोकप्रिय लोक तथा सेलो गायक संगीतकार विश्व दोङको प्रस्तुतिका लागि प्रतीक्षा गरिरहेका थिए । शुक्रबार साँझको त्यो पर्खाइको घडीलाई अन्त्य गर्दै दोङ स्टेज चढेर दर्शकलाई ढोग्दै पूर्वको तामाङलाई दुख्दा पश्चिमको तामाङलाई पनि दुख्नु पर्छ भन्दै सांगीतिक ढोका खोल्दै डेढ घण्टा प्रस्तुति दिए ।

नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारले शुक्रवार सोनाम ल्होछारको अवसरमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएका दोङले आफ्नो वैदेशिक सांगीतिक यात्रा कतारबाट सुरु भएको र १२ वर्षपछि दोस्रो पटक कतार आउन पाएकोमा खुसी व्यक्त गर्दै आयोजक प्रति आभार व्यक्त गरे । उनले नेपालको आसन्न चुनाव प्रति लक्षित गर्दै राम्रो नेता चुन्न परिवारमा सुझाव दिन र छुट्टी मिलेसम्म नेपाल पुगेर राम्रा प्रतिनिधि चुन्न समेत आग्रह गरे । उनले तामाङ सेलो, पूर्वेली भाका सहित म्हेन्दोमाया देखि पछिल्लो समयको उनको ट्रेन्डिङ रहेको साइँलो म चार घरे र केराको पातले भुईं छुन्छ सम्म गाएर दर्शकलाई मजैले नचाए । उनको प्रस्तुतिमा पाहुना, आयोजक तथा दर्शक झुमेका थिए ।

तामाङ समुदायको महान् पर्व मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार कार्यक्रममा  नेपालबाट आमन्त्रित चर्चित म्हेन्दोमाया गायिका मिना लामाले आफ्ना सांगीतिक प्रस्तुति राखिन् । उनले आयोजकप्रति आभार व्यक्त गर्दै तामाङ भाषाका गीतमा छमछमी नचाइन् । कतारमा रहेका दर्जनौं कलाकारहरूले तामाङ सेलो, ताम्बा नाच, घोडा नाच, म्हेन्दोमाया लगायत विभिन्न नेपाली तथा तामाङ भाषाका गीतमा प्रस्तुति दिएका थिए । निकै व्यवस्थित रूपमा लोभ लाग्दो उपस्थितिबिच धेदुङ प्रवास कार्यसमितिले सोनाम ल्होछार भव्य रूपमा मनाएको हो ।

घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष फुर्बा ग्याबा तामाङको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ऐतिहासिक कार्यक्रममा प्रत्यक्ष सहभागी भएर कार्यक्रमको अवलोकन गर्न पाउँदै खुसी लागेको बताउँदै भव्य कार्यक्रम आयोजना गरेर सफलता पूर्वक सम्पन्न गरेकोमा घेदुङ प्रवास समिति धन्यवादको पात्र बनेको बताउँदै ल्होछारको शुभकामना दिए । कलाकारका प्रस्तुतिमा छमछमी नाचेका श्रेष्ठले आदिवासीहरू मध्यका मुख्य जात जो नेपालको पहाडी भेगमा बहुसङ्ख्यक रूपमा रहेको बताउँदै कतारमा तामाङहरूमा देखिएको दुई धार छिट्टै एक धारमा फर्कने विश्वास व्यक्त गरे ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको एक मात्र शुभकामना रहेको थियो । जनजाति समुदायको परम्परा अनुसार घेदुङलाई नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका मातृसंस्थाहरूले सद्भाव प्रकट गर्दै सगुन स्वरूप (कोसेली) उपहार प्रदान गरेका थिए । कार्यक्रम संयोजक दिल कुमार स्याङ्बो तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा सोनाम ल्होछारका बारेमा संस्थापक अध्यक्ष योगेन्द्र ल्हो तामाङले प्रकाश पारेका थिए । महासचिव राम बहादुर पाख्रिन तामाङ, उप-महासचिव विनय बोम्जन तामाङ र सपना घलान तामाङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति लामाले कार्यक्रमको व्यवस्थापन, सुरक्षा तथा स्वयंसेवकका रूपमा खट्ने, सहयोगी, प्रायोजक र उपस्थित सम्पूर्णलाई कार्यक्रम सफलताको श्रेय दिँदै समापन गरेका थिए ।

शुक्रबार साँझ नै पाहुना कलाकारद्वय दोङ र लामालाई मायाको चिनो र सम्मान पत्रले सम्मान गर्दै संस्थागत बिदाइ गरिएको छ । लामा गुरुहरूबाट सङसरग्याम गर्दै सुरु भएको कार्यक्रमलाई झाकी प्रदर्शनी, राष्ट्रिय गान, मौन धारण ब्यानर अनावरण, दीप प्रज्वलन, स्वागत नृत्य, तामाङ जागरण गीत सहित उद्घाटन गरिएको थियो ।कतार सरकारबाट अनुमति लिएर आयोजना गरिएको कार्यक्रमको हललाइ तामाङहरूले आफ्नो संस्कार अनुसार धर्ज्युले शुद्धीकरण गरेका थिए । कार्यक्रममा आमन्त्रित अतिथि सहित प्रत्येक व्यक्तिलाई प्रवेशद्वारमा नै खादा लगाएर स्वागत गरिएको थियो । हलको ग्राउन्डमा राखिएका कुर्ची अतिथि र दर्शकले भरिभराउ भएको थियो ।

हजारौं उपस्थित रहेको कार्यक्रममा खाना पानीको समेत व्यवस्था चुस्त रूपमा गरिएको थियो । उपस्थित मध्ये तामाङ समुदायका मानिस परम्परागत भेष भूषामा सजिएका थिए । दिउँसोको करिब २ बजेबाट सुरु भएको कार्यक्रमको रौनक रातको करिब ८ बजेसम्म नै चलिरह्यो ।  प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने ल्होछार  मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरी मनाउने गरिन्छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।

भिक्टोरिया गोल्ड एन्ड डाइमन्डले मुख्य प्रायोजन गरेको कार्यक्रममा घेदुङकै भ्रातृसंस्थाहरू नेपाल तामाङ महिला घेदुङ, युवा घेदुङ, सांस्कृतिक घेदुङ, ताम्बा घेदुङ र लामा घेदुङ सह आयोजकका रूपमा रहेका छन् । मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रमको सञ्चार सहयोगीका रूपमा रहेको थियो ।

सम्बन्धित खबर