२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

अर्घाखाँचीमा चुनावी चहलपहल बढ्दै, मतदातामा खेती जोगाउने चिन्तामा

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ माघ २४ गते २२:३०
Shares
अर्घाखाँचीमा चुनावी चहलपहल बढ्दै, मतदातामा खेती जोगाउने चिन्तामा

अर्घाखाँची : निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँची जिल्लाका गाउँ–गाउँ र बस्तीहरूमा चुनावी गतिविधि तीव्र बन्दै गएका छन् ।  झण्डा, माइक र नाराबाजीभन्दा टाढा रहेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । 

तर उम्मेदवारहरू गाउँमा पुग्दा मतदाताहरूले उठाउने मुख्य चासो राजनीतिकभन्दा बढी दैनिक जीवनसँग जोडिएको समस्या बनेको छ । विशेष गरी बाँदर, बँदेल र दुम्सीबाट खेतीबालीमा हुने क्षति अहिले गाउँका मतदाताको प्रमुख चिन्ता बनेको छ । धेरै मतदाताहरू उम्मेदवारहरूसँग ‘खेती जोगाउने स्थायी समाधान चाहिन्छ’भन्ने माग राखिरहेका छन् । 

अर्घाखाँचीमा यसपटक एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । सो क्षेत्रमा एक महिलासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न राजनीतिक दलका १२ जना र तीन जना स्वतन्त्र उम्मेदवार गरी सबै उम्मेदवारहरू अहिले मतदाता भेटघाटमा व्यस्त देखिन्छन् । 

नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका नेताहरू लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय रहँदै आएका परिचित अनुहार हुन् ।  यही कारण अर्घाखाँचीको निर्वाचनलाई यसपटक रोचक र प्रतिस्पर्धात्मक मानिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न मतदाताहरूलाई समेत कठिन देखिएको छ ।

विगतको चुनावी इतिहास हेर्दा अर्घाखाँचीमा राजनीतिक परिणामहरू समयअनुसार परिवर्तन हुँदै आएका छन् । संघीयता अघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले एक मात्र क्षेत्र कायम छ ।

२०४८ र २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसले सफलता हासिल गरेको थियो भने २०५६ सालमा एमाले–राष्ट्रिय जनमोर्चाको तालमेलबाट एमाले विजयी भएको थियो। २०७४ मा माओवादी–एमाले गठबन्धनबाट टोपबहादुर रायमाझी विजयी भएका थिए । २०७९ को निर्वाचनमा पनि रायमाझीले एमालेबाट उम्मेदवारी दिँदै कांग्रेसकी पुष्पा भुसाल (गौतम)लाई पराजित गरेका थिए ।

यसपटक नेपाली कांग्रेसले जिल्लामा लामो समयदेखि सक्रिय तथा लोकप्रिय मानिएका  विष्णुप्रसाद खनाल (मुस्कान)लाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट दुईपटक जिल्ला अध्यक्ष बनेका पिताम्बर भुसाल चुनावी मैदानमा छन्। त्यस्तै, रास्वपाबाट हरिप्रसाद भुसाल, नेकपाबाट रामबहादुर चौहान, माओवादी केन्द्रबाट खिमबहादुर घर्ती उम्मेदवार रहेका छन् । स्वतन्त्रतर्फ पम्फा श्रेष्ठ एक मात्र महिला उम्मेदवार हुन् । 

मुख्य निर्वाचन अधिकृत सिबलाल पाण्डेका अनुसार अर्घाखाँचीमा १ लाख ७१ हजार ६ सय ५२ मतदाता, १ सय २ मतदानस्थल र २ सय ९ मतदान केन्द्र रहेका छन् । 

स्थानीय मतदाताहरू भन्छन्,‘चुनाव जित–हारको कुरा मात्र होइन, हाम्रो दैनिकीसँग जोडिएको आशा पनि हो । जसले हाम्रो समस्या बुझ्छ र समाधानको बाटो देखाउँछ, उसैलाई मत दिन्छौं ।’

ताजा खबर

सम्बन्धित खबर