२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेकपाको नजरमा रास्वपा पपुलिस्ट, एमाले र कांग्रेसलाई ‘यथास्थितिवादी’को संज्ञा

shivam cement
मुकुन्द लामिछाने
२०८२ माघ २८ गते ०६:२०
Shares
नेकपाको नजरमा रास्वपा पपुलिस्ट, एमाले र कांग्रेसलाई ‘यथास्थितिवादी’को संज्ञा

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले नयाँ राजनीतिक दलहरूलाई पपुलिस्टको संज्ञा दिएको छ । आगामी २१ फागुनको निर्वाचनका लागि मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा नयाँ उदाउँदा शक्तिहरूलाई पपुलिस्ट भनेको हो ।  

‘आफूलाई नयाँ भन्ने पपुलिस्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन छ’ घोषणापत्रमा भनिएको छ, ‘यो भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको शक्ति हो ।’ यस्ता शक्तिहरूले मुलुकका समस्या समाधान गर्न नसक्ने र उनीहरू देश र जनताको हितमा नरहेको नेकपाको दाबी छ ।

नयाँ शक्तिलाई पपुलिस्ट भनेर टिप्पणी गरेको नेकपाले नेकपा एमाले र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी’को संज्ञा दिएको छ । एमाले र काँग्रेससँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको पनि नेकपाको टिप्पणी छ ।

यसबाहेक नेकपाले राजनीतिक दलहरूको प्रवृतिलाई अरू दुई वर्गमा समेत देखाएको छ । जसअन्तर्गत राप्रपालाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिका रूपमा चित्रित गरेको छ । जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र फर्काउन खोज्ने यी शक्तिहरूले देशलाई पछाडि धकेल्ने चालबाजी गरिरहेको आरोप नेकपाको छ ।

बाँकी रहेको अर्को वर्गलाई नेकपाले आफूलाई राखेको छ । क्रान्तिकारी शक्तिका रूपमा आफूलाई चित्रित गर्दै नेकपाले आफूसँग समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा भएको दाबी गरेको छ । 

विगतका जनसंघर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता अधिकार आफ्नै कारण प्राप्त भएको दाबी पनि गरेको छ ।

नेकपाले सार्वजनिक गरेको घोषणापत्रमा अगाडि भनिएको छ, ‘हामीले व्यवस्था बदल्यौं, अब अवस्था पनि हामीले नै बदल्नेछौं ।’ 

२१ फागुनमा हुने निर्वाचन आयोगले समेत दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न ताकेता गरिरहेको छ । यही बेला नेकपाले आफ्नो घोषणापत्र ल्याएको हो । 

आयोगको सबै राजनीतिक दललाई आगामी फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न र आयोगमा पेस गर्न निर्देशन जारी गर्ने निर्णय नै गरेको छ । 

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूले निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्नेहुन्छ । 

‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको बेहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर