२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

ग्लोबल लिटरेचर फेस्ट-२०२६ सम्पन्न

shivam cement
२०८२ फागुन १ गते १४:०५
Shares
ग्लोबल लिटरेचर फेस्ट-२०२६ सम्पन्न

काठमाडौं : ‘ग्लोबल लिटरेचर फेस्ट- २०२६’ सम्पन्न भएको छ । साहित्य, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय संवादलाई प्रवर्धन गर्ने उद्देश्यका साथ ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत द एड्भान्ट–ग्रेड लिटरेरी क्लबका विद्यार्थीहरूद्वारा आयोजित फेस्टिभलमा विभिन्न सेसनअन्तर्गत साहित्यिक विचार–विमर्श एवं कविता, गजलवाचन कार्यक्रम भएको थियो ।

साहित्यकार खगेन्द्र संग्रौलाले फेस्टिभलमा ‘प्रेम र जीवन’सेसनअन्तर्गत स्वागत प्रवचन दिएका थिए । उनले यस सेसनअन्तर्गत आफूले जीवनकालमा विद्यार्थी जीवनदेखि गरेको प्रेमानुभव सुनाएका थिए । उनले प्रेमले मान्छेलाई मानवीय र संवेदनशील बनाउने बताए । आफूले प्रेम गर्न उक्साएको र प्रेम नगर्न अर्ति दुवै नदिएको बताउँदै जीवनका प्राथमिकताहरूमा केन्द्रित हुनुपर्ने बताए । आफू आफ्नै खुट्टामा अडिग नभई गरिने प्रेममा सम्मान र समान भाव दुवै नहुने उनको भनाइ थियो ।

यसैगरी संग्रौलासहित कवि डा. नवराज लम्साल र कथाकार बिना थिङ तामाङले ‘रिल्स’को बढ्दो प्रभावबीच साहित्यको अर्थ, धैर्य र पुस्तान्तरणीय मूल्यबारे गम्भीर बहस गरेका थिए । पत्रकार तथा निबन्धकार दीपक सापकोटाले सञ्चालन गरेको उक्त सेसनमा वरिष्ठ साहित्यकार संग्रौलाले प्रेमलाई जीवनको सबैभन्दा बहुमूल्य तत्त्व भन्दै आजको पुस्ता सजिलो र छिटो माध्यमतर्फ आकर्षित भइरहेको बताए ।

उनले साहित्य मरेको नभई नयाँ पुस्तालाई आकर्षित गर्ने ढंगले लेखनमा सुधार आवश्यक रहेको उल्लेख गरे । प्रत्येक पुस्ताको आफ्नै भाषा, रुचि र मानसिकता हुने भएकाले बदलिँदो समयलाई बुझेर साहित्यिक गतिविधि अघि बढाउनुपर्ने उनको धारणा थियो ।

कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले सामाजिक सञ्जालले धेरैलाई लेखक, वक्ता र सर्जकको रूपमा स्थापित हुन सहयोग गरेको बताए । उनका अनुसार परिवर्तन प्रत्येक पुस्तासँगै आउँछ, त्यसलाई स्वीकार गर्दै नयाँ माध्यमसँग सिक्दै अघि बढ्नुपर्छ ।

लम्सालले वास्तविक साहित्य भनेको मानिस–मानिसबीचको सम्बन्ध, माया र आत्मीयता भएको उल्लेख गर्दै रिल्स होस् वा साहित्य, त्यसले सम्बन्ध जोड्न, प्रेम फैलाउन र आगामी पुस्तासम्म मूल्य हस्तान्तरण गर्न सक्नुपर्नेमाथि जोड दिए ।

कथाकार बिना थिङ तामाङले पछिल्लो पुस्ता रिल्समा अल्झिएर पठन संस्कृतिक कमजोर नभएको बताएकी थिइन् । युवा पुस्तामा पठन संस्कृति कायमै रहेको बताउँदै उनले यो विस्तारित हुन नसक्नुको कारण अभिभावक र शिक्षकहरू नै भएको तर्क गरेकी थिइन् ।

उनले नयाँ पुस्तामा पठन संस्कृति बढाउन अभिभाव नै जिम्मेवार र गम्भीर हुनुपर्ने एवं बहस, कार्यक्रम र सिर्जनात्मक पहल आवश्यक रहेको बताइन् ।

फेस्टिभलमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लव प्रतीक, प्रभाती किरण, राधा कणेल, रिमा केसी र देवव्रतले कविता र गजल सुनाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर