
काठमाडौं : पूर्ण ओलीका २ पुस्तक 'समृद्धि सपना' र 'बहुरूपी मान्छे' लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा यी २ कृति इतिहासविद्, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, साहित्यकार एवं चर्चित गीतकार राजेन्द्र थापालगायतले लोकार्पण गरेका हुन् ।
कृतिबारे नेपाली सेनाका अवकाशप्राप्त ब्रिग्रेडियर जनरल प्रेमसिंह बस्न्यातले मिहिन समीक्षा गरेका थिए । बस्न्यातले लेखक ओलीले आफ्ना पुस्तकमा देशको राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक दुरपस्थाको कारण र परिणाम उल्लेख गरेका बताए । उनले लेखकले देशलाई असहज परिस्थितिबाट निकास दिन प्रशस्त सुझावहरू पनि दिएका उल्लेख गरे ।
साहित्यकार, समालोचक घनेन्द्र ओझाले पूर्ण ओली नेपाली सेनाका अवकाशप्राप्त अधिकृत भएका उल्लेख गर्दै ओलीले आफ्नो जागिरे जीवनका क्रममा देश, विदेशमा देखे/भोगेका सँगै अवकाशपछि देखेका, भोगेका र अनुभव गरेका विषयलाई आफ्नो पुस्तकमा लेखेका बताए ।
ओझाले ओलीले 'समृद्धि सपना'मा समसामयिक विषयका लेखहरू सङ्गृहीत गरेका र 'बहुरूपी मान्छे'मा वर्तमानका मान्छेका अनेक चरित्र र प्रवृत्तिलाई आख्यानीकरण गरेका बताए ।
लेखक ओलीले देशमा देखिएको अनियमितता, भ्रष्टाचार, अपराधका कारण चौतर्फी समस्या देखिएको भन्दै तिनै सन्दर्भलाई पुस्तकमा लेखेको सुनाए ।
प्रा.डा. सुरेन्द्र केसीले लेखक ओलीले पुस्तकमा लेखेजस्तै देशमा अन्योल, अस्थिरता र अराजकताको कारण शासकमा जिम्मेवारी, इमान, नैतिकता र आदर्श हराउनु नै भएको बताए ।