२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

धमाधम आउँदै घोषणापत्र, महत्वाकांक्षी योजना पस्किँदै दलहरू

shivam cement
मुकुन्द लामिछाने
२०८२ फागुन ४ गते ०६:२५
Shares
धमाधम आउँदै घोषणापत्र, महत्वाकांक्षी योजना पस्किँदै दलहरू

काठमाडौं : राजनीतिक दलहरूले धमाधम चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हालसम्म सार्वजनिक भएका दलहरूका घोषणापत्रमा महत्वकांक्षी योजनाहरू समावेश छन् ।
आर्थिक विकास र समृद्धिका सपनाका साथसाथै रोजगारी सिर्जना लगायतमा महत्वकांक्षी योजना सबैजसो दलहरूका घोषणापत्रमा समावेश छ । शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने गर्ने बाचा पनि छुटेका छैनन् । 

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक करार पत्र, उज्यालो नेपाल पार्टीले चुनावी घोषणापत्र ल्याएको छ । 

‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्दै नीतिगत, आचरणगत र संस्थागत सुधारमार्फत विश्वासयोग्य राज्य निर्माण गर्ने लक्ष्य रास्वपाको छ ।

मध्यम वर्ग विस्तारलाई दोस्रो प्राथमिकतामा राख्दै औसत वार्षिक प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्‍याउने, कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर नाघ्ने बनाउने तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ । सार्वजनिक शिक्षामा सुधार र ‘एकीकृत सामाजिक सुरक्षा’को अवधारणासहित आधुनिक वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाउने उल्लेख गरिएको छ।

रोजगार सिर्जनालाई तेस्रो प्राथमिकतामा राख्दै वैदेशिक पलायन घटाउने, औपचारिक र सुरक्षित रोजगारी विस्तार गर्ने तथा पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य पार्टीले प्रस्तुत गरेको छ । पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् जडान क्षमता र ३० हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

यसअघि नै नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, आम जनता पार्टी (आजपा), राष्ट्रिय मुक्ति पार्टीले घोषणापत्र ल्याइसकेका छन् । 

नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्रमा शासकीय सुधार, सुशासन र रोजगारी सिर्जना मुख्य प्राथमिकतामा राखिएको छ । 

कृषि, उद्योग, रोजगार, स्वास्थ्य, पूर्वाधार विकास, कूटनीति, सामाजिक न्याय जस्ता हरेक शीर्षकमा मतदातालाई आकर्षक लाग्ने प्रतिबद्धताहरू गरिएका छन् ।

स्वास्थ्यमा हाल ३० प्रतिशत रहेको स्वास्थ्य बिमालाई २०८८ सालसम्म शतप्रतिशत पु¥याउने लक्ष्य लिइएको छ । स्वास्थ्यको बजेट ५ बाट बढाएर ८ प्रतिशत पुर्‍याउने भनिएको छ ।

निर्माणाधीन राष्ट्रिय गौरवका परियोजनाहरू यथाशीघ्र सम्पन्न गर्ने, सबै स्थानीय तहसम्म पक्की सडक, पूर्वपश्चिम रेलमार्ग, काठमाडौंमा मेट्रोरेल तथा मोनोरेल निर्माण, वि.सं. २१०० सम्म ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता नेकपाले गरेको छ ।

‘आगामी ५ वर्षभित्रमा सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध हुनेछ,’ नेकपाको प्रतिबद्धता छ, ‘एक परिवार एक आवासको अवधारणा बमोजिम ५ वर्षमा पाँच लाख नयाँ आवास निर्माण गरिनेछ ।’

किसानलाई परिचयपत्र, न्यूनतम ज्याला, सामाजिक सुरक्षा र बिमा प्रभावकारी बनाउने भनिएको छ । भूमिहीनको समस्या त २ वर्षभित्रै हल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

राप्रपाका जलस्रोत, पर्यटन, कृषि, सूचना, प्रविधि, सुशासन लगायतका विषयलाई पार्टीले आफ्नो घोषणापत्रमा समेटेको छ ।

जसपा नेपालले पनि उस्तै महत्वकांक्षी योजनाहरू अगाडि सारेको छ । कृषि क्षेत्रलाई जोड दिँदै पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । 

आम जनता पार्टीले अझ अगाडि बढेर शिक्षा, स्वास्थ्य र आधारभूत सेवा निःशुल्क गर्ने वाचा गरेको छ ।

आजपाको घोषणापत्रमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गरिनेछ ।’

शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइएको छ । पूर्ण साक्षर राष्ट्र, स्मार्ट कक्षाकोठा र ‘एक स्थानीय तह, एक खेलमैदान’ जस्ता कार्यक्रम समावेश छ ।

यसका साथै रोजगारीको ग्यारेन्टी गर्ने भनिएको छ । ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरेको छ ।

अर्थात्, विगतका निर्वाचनमा झैं यसवर्ष पनि राजनीतिक दलहरू महत्वकांक्षी योजना पस्किँदै छन् । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरूले भने चनावी घोषणापत्र ल्याउन बाँकी छ । 

ताजा खबर

सम्बन्धित खबर