२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

जित निकाल्न अनेक कोसिस, क्षेत्रगत तालमेलमा लागे उम्मेदवार

shivam cement
मुकुन्द लामिछाने
२०८२ फागुन ५ गते ०६:२५
Shares
जित निकाल्न अनेक कोसिस, क्षेत्रगत तालमेलमा लागे उम्मेदवार

काठमाडौं : दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी र आम जनता पार्टी (आजपा)बीच चुनावी तालमेल भएको छ । तालमेलको सहमतिअनुसार त्यहाँ आजपाका उम्मेदवार कृष्णबहादुर विकले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर नेकपाका उम्मेदवार निर्मल आचार्यलाई समर्थनको घोषणा गरेका छन् । 

दाङ–२ बाट २०७९ को चुनावमा नेकपाकी रेखा शर्माले चुनाव जितेकी थिइन् । यसपटक नेकपाबाट आचार्य छन् । जित जोगाउने प्रयासअन्तर्गत आचार्यले अर्को पार्टीका उम्मेदवारसँग तालमेल गरेका हुन् । यो क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विपिनकुमार आचार्यसहित २३ जना उम्मेदवार छन् । 

यसपटक राजनीतिक दलहरूले देशव्यापी गठबन्धन गरेका छैनन् । तर क्षेत्रगत रुपमा भने उम्मेदवारहरूले तालमेल गरेका छन् । मतदानको दिन नजिकिँदै जाँदा स्थानीय स्तरमै तालमेलको प्रयास अझ बढेको देखिन्छ ।

यसअघि नै नेकपा र राष्ट्रिय जनमोर्चाले दुई क्षेत्रमा तालमेल गरिसकेका छन् ।  बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र क्षेत्र नं. २ मा नेकपा ज्ञामनाथ गैरे दुई दलबाट साझा उम्मेदवार बनेका छन् । तालमेलअनुसार क्षेत्र नं. १ नेकपाले जनमोर्चाका अधिकारीलाई सघाएको छ भने क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार गैरेलाई राजमोले सघाएको छ । उनीहरू संयुक्त रुपमा चुनावी प्रचार÷प्रसार गरिरहेका छन् । 

यी दलका साझा उम्मेदवारबाहेक बागलुङ–१ मा नेकपा एमालेबाट हिराबहादुर केसी, कांग्रेसका भीम श्रीस र रास्वपाका सुशील खड्का उम्मेदवार छन् । बागलुङ–२ मा नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, कांग्रेसका टेकराज पौडेल र रास्वपाबाट सोम शर्मा उम्मेदवार रहेका छन् । 

२०७९ को चुनावमा बागलुङ–१ बाट राजमोका चित्रबहादुर केसीले चुनाव जितेका थिए । बागलुङ–२ बाट नेकपाका देवेन्द्र पौडेलले चुनाव जितेका थिए । विगतको पार्टीको जित जोगाउन नेकपा र राजमो दुवैले बागलुङका दुवै क्षेत्रमा यसपटक पनि क्षेत्रगत तालमेल गरेका हुन् ।

सुनसरी–१ र भोजपुरमा प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीका बीचमा तालमेल भएको छ । प्रलोपाले सुनसरी–१ मा धरानका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले प्रलोपालाई समर्थन गरेका छन् ।

२०७९ को निर्वाचनमा भोजपुरमा सुदन किरातीले एमालेका शेरधन राईलाई पराजित गरेका थिए । यसपटक सुदन आफू उम्मेदवार छैनन् । शेरधन राई भने पुनः उम्मेदवार छन् । यसबाहेक भोजपुरमा कांग्रेसबाट बालकृष्ण थापा, नेपाली कम्युनिष्ट पार्टीबाट अजम्बर राई काङमाङसहित १२ जना उम्मेदवार छन् । 

सुनसरी–१ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका साम्पाङसहित २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट टिकाराम लिम्बू, कांग्रेसबाट सुरेन्द्र तामाङ, नेकपाबाट सूर्यबहादुर भट्टराईलगायत उम्मेदवार रहेका हुन् । 

एमाले–प्रलोपाबीच चुनावी गठबन्धन गर्ने सहमति नै भइसकेको छ । माघ ११ गते यी दुई दलबीच कर्णाली प्रदेशलाई केन्द्रमा राखेर चुनावी गठबन्धन गर्ने सहमति भएको थियो ।

रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई एमालेले सहयोग गरेको छ । तालमेलअनुसार प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई सहयोग गर्नेछ ।

मनाङमा तीन जना मात्रै उम्मेदवार छन् । नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीकी यशोदा सुवेदी गुरुङ र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले उम्मेदवार छन् ।

६ माघमा एमाले र राप्रपाको तर्फबाट समेत उम्मेदवारी परेको थियो । तर पछि एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिए । यहाँ रास्वपाको उम्मेदवार छैनन् । रास्वपाले मनाङमा अनिल गुरुङलाई टिकट दिएको थियो । अनिल मनोनयनका लागि निर्धारित समयमा नपुगेपछि उम्मेदवारी दर्ता हुन सकेन ।

ताजा खबर

सम्बन्धित खबर