
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी अभियानमा निस्किएको छ । यसअघि छुट्टाछुट्टै चुनावी प्रचारमा रहेका रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार एकसाथ सुदूरपश्चिमको धनगढीमा देखिए । अब उनीहरू प्रमुख सहरहरूमा सँगसँगै पुग्नेछन् ।
धनगढीको सभामा रवि र बालेन दुवैले सम्बोधन गरे । यसअघि गत माघ ५ गते जनकपुरमा रास्वपाले उद्घोष सभा गरेको थियो । जहाँ उनीहरू एकसाथ देखिएका थिए । ६ माघमा उम्मेदवारी दर्ता गरेपछि बालेन र रवि आ–आफ्नो ढंगले प्रचारमा निस्किएका थिए ।
त्यसपछि एकैपटक धनगढीमा एकसाथ देखिएका उनीहरूले भाषण कम र काम ज्यादा गर्ने प्रतिबद्धता जनाए । सुदूरपश्चिमलाई टाढा नभएर नजिक बनाउनुपर्ने भन्दै उनले भने, ‘रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ।’ चुनाव जितेपछि कसले भोट दियो वा दिएन भन्ने नहेरी विकासको गति अगाडि बढाउने वरिष्ठ नेता शाहको प्रतिबद्धता छ ।
रास्वपाका सभापति लामिछानेले आफूहरू स–साना समस्या नभएर देशकै समस्या समाधान गर्न राजनीतिमा आएको बताए । नागरिकका सडक पूर्वाधार लगायतमा चासो रहेको उल्लेख गर्दै उनले भने, ‘म खुद्रा–खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु ।’
बिहीबार रास्वपाको कर्णाली प्रदेशमा कार्यक्रम छ । जहाँबाट रास्वपाले चुनावी घोषणापत्रको विस्तृत विवरण सार्वजनिक गर्दैछ । रास्वपाले चुनावी घोषणापत्रलाई जनतासँगको करारपत्र भनेको छ ।
फागुन १० पोखराको अमरसिंह चौरमा रास्वपाको चुनाव केन्द्रित कार्यक्रम छ । नेताहरूका अनुसार बाँकी सहरहरूमा पनि कार्यक्रम बन्दैछन् ।
२१ फागुनको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि प्रचारप्रसारको समय सुरु भएको हो । प्रचारप्रसारको कार्यक्रम यही फागुन १८ गतेसम्म चल्नेछ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।
यसपटकको निर्वाचनमा ६७ दलका चुनावी मैदानमा छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फबाट निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ सिटका लागि ६७ दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार छन् । ११० सिटका लागि ६३ वटा दलबाट तीन हजार २१३ जना उम्मेदवार छन् । समानुपातिकतर्फ दलले पाएको सिटका आधारमा सांसद संख्या तय हुन्छ भने प्रत्यक्षतर्फ खसेको मतको बहुमत ल्याउनुपर्छ ।
रास्वपा बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेर अगाडि बढेको छ । रवि लामिछाने यसअघि नै उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा समेत चलिरहेको छ । रास्वपाले लामिछानेविरुद्धको मुद्दालाई तत्कालीन सरकारको प्रतिशोधको रूपमा लिँदै आएको छ ।
रास्वपा २०७९ साल असारमा जन्मिएको पार्टी हो । विघटित प्रतिनिधिसभामा चौथो शक्तिको रूपमा उदाएको थियो । यसपटक राष्ट्रिय शक्ति बन्ने दाबी गर्दै अगाडि बढेको छ । यसकारण रास्वपाको चुनाव केन्द्रित कार्यक्रम आम चासोको रूपमा रहँदै आएको छ ।