२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रोकिएन आचारसंहिता उल्लंघन, रमिते निर्वाचन आयोग

shivam cement
मुकुन्द लामिछाने
२०८२ फागुन १२ गते ०६:२५
Shares
रोकिएन आचारसंहिता उल्लंघन, रमिते निर्वाचन आयोग

काठमाडौं : निर्वाचनको दिन जति नजिकियो उति निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दो छ । निर्वाचन आयोगकै अनुसार शिक्षक र कर्मचारी राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएका छन् । चुनावी प्रचारमा बालबालिकाको प्रयोग भइराखेको छ । बजार तथा चोकमा पार्टीका रंगीबिरंगी झन्डा टाँग्न नपाइने प्रावधानको पालना भएको छैन । यस्तोमा आयोगले सरोकारवाला पक्षलाई सचेत गराउने बाहेक थप कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘आचारसंहिता विपरित केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी आयोगमा प्राप्त भएको छ ।’ 

यस्तोमा आयोगले विज्ञप्ति नै निकालेर शिक्षक र कर्मचारीलाई दल र उम्मेदवारको चुनावी प्रचारमा नजान भनेको छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १० को खण्ड (क) मा बिद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसारमा संलग्न हुन नपाउने प्रावधान छ ।

चुनावी प्रचारमा बालबालिकाको प्रयोग गर्न पनि पाइँदैन । तर, निर्वाचन आयोगमा राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा बालबालिकाको प्रयोग गरिरहेको उजुरी छ ।

सांस्कृतिक कार्यक्रममा, ¥यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अंकित भेस्ट–टिसर्ट–लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिकालाई सहभागी गराइएको छ । 

विद्यालय समयमा विद्यालयनजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा समेत उजुरी तथा गुनासो निर्वाचन आयोगमा प्राप्त भएका छन् । 

यस्तो उजुरी आएपछि आयोगले विज्ञप्ति निकालेर निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न सबै पक्षलाई सचेत गराएको छ ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।

यस्तो अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघनमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ । तर कारबाहीको हदसम्म आयोग अगाडि बढ्न सकेको छैन । 

आचारसंहिता उल्लंघनमा ८० जना बढीलाई स्पष्टीकरण सोधिएको छ । त्यसरी प्राप्त जवाफमाथि कारबाही पनि भएको छैन  । स्पष्टीकरणमा पठाएका जवाफसमेत निर्वाचन आयोगले सार्वजनिक गर्न चाहेको छैन । 

यही १८ गतेसम्म चुनावी प्रचारप्रसारको समय छ । त्यसपछि मौन अवधि सुरु हुन्छ । आचारसंहितामा कारबाही गर्नका लागि थप स्पष्टीकरण दिने लगायतका कार्यका लागि एक साता समय लाग्ने आयोगकै अधिकारीहरू बताउँछन् । यस्तोमा कारबाही हुने हँदा फागुन १८ भित्रै निर्णय भइसक्नुपर्छ । तर, आयोग आचारसंहिता उल्लंघनको उजुरी लिइरहेको छ । केहीलाई स्पष्टीकरण सोधेको छ । बाँकी प्रक्रियामा अगाडि बढेको छैन । 

सम्बन्धित खबर