
अर्घाखाँची : अर्घाखाँचीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीका अनुसार जिल्लाका १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्रमा कर्मचारी तथा आवश्यक निर्वाचन सामग्री सोमबारदेखि पठाउन थालिएको छ ।
मुख्य निर्वाचन अधिकृत सिवलाल पाण्डेले मतदान केन्द्रहरूमा अपांगमैत्री व्यवस्था मिलाइएको जानकारी दिए । वृद्धवृद्धा, असहाय तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्न विशेष प्रबन्ध गरिएको उनले बताए । निर्वाचन स्वच्छ र निष्पक्ष हुने उल्लेख गर्दै उनले मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी परिचालन गरिएको छ । कुनै समस्या देखिएमा १५ मिनेटभित्र सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
जिल्लामा निर्वाचनका लागि १ हजार २ सय ६० जना कर्मचारी खटिएका छन् । निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रकाश पौडेलका अनुसार कर्मचारी व्यवस्थापन, सामग्री प्याकिङ तथा सवारी साधन व्यवस्थापनलगायतका काम सम्पन्न भइसकेका छन् ।
जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेका छन् । दुईवटा अस्थायी मतदान केन्द्रसमेत तोकिएका छन्, जहाँबाट कर्मचारी, सुरक्षाकर्मी तथा कारागारमा रहेका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईका अनुसार जिल्ला सुरक्षा समितिले मतदान स्थलहरूको स्थलगत अनुगमन गरी संवेदनशीलताको मूल्यांकन गरेको छ । प्रशासकीय अधिकृत श्यामहरि घिमिरेले ३७ मतदान स्थल अति संवेदनशील, ४० संवेदनशील र २५ सामान्य श्रेणीमा वर्गीकरण गरिएको जानकारी दिए ।
विशेषगरी शितगंगा नगरपालिकाका दुर्गम बस्तीहरूमा मतदाताले मतदानस्थल पुग्न घण्टौं पैदल हिँड्नुपर्ने अवस्था रहेको छ । कतिपय स्थानमा मतदाताले एक रात बास बसेर मतदान गर्नुपर्ने बाध्यता भए पनि सुरक्षा व्यवस्थासहित सहज मतदान वातावरण बनाइएको प्रशासनले जनाएको छ । मतदान सम्पन्न नहुञ्जेल जिल्लाभर मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै तयारी पूरा भएको जनाएको छ ।