
काठमाडौं : बिहीबार मतदान सम्पन्न भएसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदाताहरूलाई धन्यवाद दिए । उनले विज्ञप्ति नै निकालेर भनेका छन्, ‘एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’
कांग्रेस आफैँका लागि यसपटकको चुनाव महत्वपूर्ण छ । किनभने समानुपातिक तर्फको मनोनय दर्ता भइसकेपछि पार्टी नेतृत्वमा परिवर्तन भएको थियो । विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनको विषयलाई तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले स्वीकारेन न र सर्वोच्च अदालत गएको छ । तथापि, चुनावमा पार्टी नेता÷कार्यकर्ता एक भएर लागेको उनीहरूको भनाइ छ ।
कांग्रेस नेताहरूका अनुसार यसपटक वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक शक्ति हुँदै गर्दा पनि कांग्रेस पपुलर मत जोगिने आशमा छ । यसको आधारको रुपमा पार्टी नेतृत्वमा आएको परिवर्तनलाई देखाइएको छ । गगन थापा सभापति बनेपछि पार्टीले पुस्तान्तरणको सन्देश दिएको भन्दै कतिपय विश्लेषकले यसलाई कांग्रेसका लागि अवसरका रूपमा हेरेका छन् । युवापुस्तामाझ लोकप्रिय मानिने थापाको नेतृत्वले पार्टीलाई नीतिगत बहस र सुधारको दिशातर्फ लैजान सक्ने अपेक्षा कतिपयमा छ । यही अपेक्षाले गत चुनावमा पाएको पपुलर मत जोगिने आश कांग्रेसले गरेको हो । कांग्रेसले गत चुनावमा समानुपातिक तर्फ २६ लाख ६६ हजार २६२ मत पाएको थियो । यसलाई जोगाउने प्रयास गरेको हो ।
कांग्रेस नेताहरूका कांग्रेसले दुई कोणबाट चुनावी काम गरेको छ । पहिलो, विगतमा प्राप्त पपुलर मत घट्न नदिन संगठन र कार्यकर्तालाई सक्रिय बनाएको थियो भने शहरी मतदाता तथा युवापुस्तामाझ नयाँ नेतृत्वमार्फत भरोसा जगाउने प्रयास गरेको थियो ।