२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अर्घाखाँचीमा ‘नयाँ राजनीतिक लहर’, टोपबहादुरको प्रभाव तोड्दै ३६ वर्षीय भुसाल विजयी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ फागुन २३ गते २१:३७
Shares
अर्घाखाँचीमा ‘नयाँ राजनीतिक लहर’, टोपबहादुरको प्रभाव तोड्दै ३६ वर्षीय भुसाल विजयी

अर्घाखाँची : अर्घाखाँचीको राजनीतिमा लामो समयदेखि कायम प्रभावलाई मतदाताले यसपटक नयाँ मोड दिएका छन् ।  जिल्लाबाट लगातार चार पटक प्रतिनिधिसभामा पुगेर दुई पटक उपप्रधानमन्त्री बनेका टोपबहादुर रायमाझीको राजनीतिक प्रभावलाई चुनौती दिँदै ३६ वर्षीय युवा नेता हरिप्रसाद भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति समेत रहेका भुसालले तीन प्रमुख दलका बलिया उम्मेदवारलाई पराजित गर्दै अर्घाखाँचीको राजनीतिमा नयाँ पुस्ताको उदय गराएका हुन् । 

निर्वाचन परिणामअनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी पीताम्बर भुसाल (नेकपा एमाले) ले २२ हजार ६ सय ४९ मत प्राप्त गरे भने विष्णुप्रसाद खनाल (नेपाली कांग्रेस) ले १८ हजार ९ सय ८३ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धीमा रामबहादुर चौहान (नेकपा) समेत मैदानमा थिए । भुसालको यो सफलता तेस्रो प्रयासपछि सम्भव भएको हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले विवेकशील साझा पार्टी बाट उम्मेदवारी दिएका थिए । 

त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा लागेका उनी २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बने पनि त्यतिबेला उनले करिब ३ हजार २ सय मत मात्र प्राप्त गरेका भुसाल रासपालाई अर्घाखाँचीमा स्थापित गर्न ठुलो मिहिनेत गरेका नेता हुन् । निर्वाचनमा विजयी भएपछि भुसालले पत्रकारहरूसँग कुरा गर्दै अर्घाखाँचीको विकास र सुशासनलाई पहिलो प्राथमिकता दिँदै शहीदको सपना पूरा गर्ने बताए । 

उनले आफ्नो पहिलो काम जनताले स्पष्ट देख्ने र महसुस  गर्नेगरी अर्घाखाँची अस्पताललाई आधुनिक र सुविधासम्पन्न बनाउने, सालझन्डी–ढोरपाटन सडक निर्माण पूरा गर्ने र अर्घा भगवती विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे । 

भुसालले जिल्लामा वर्षौंदेखि रोकिएका विकास निर्माणका कामहरू अघि बढाउने र स्थानीय स्तरमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेपछि समर्थकहरु खुसी भए । उनले भने, ‘जनताको दैनिक जीवनसँग जोडिएका समस्याहरू समाधान गर्नु र सहिदहरूको सपना पूरा गर्नु मेरो पहिलो प्राथमिकता हो ।’

स्थानीय विकासका योजना र जनताको अपेक्षालाई ध्यानमा राख्दै सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने बताए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिक बहसमा सक्रिय रहेका हरिप्रसाद भुसाल केही समय काठमाडौंमा बसेपछि आफ्नै गृह जिल्ला फर्किएर सन्धिखर्कमा पत्रकारितामा सक्रिय भए । उनी भूमिकास्थान नगरपालिकाको धारापानीमिा जन्मिएका व्यक्ति हुन् । पत्रकारिता, मिडिया सञ्चालन, लेखन र व्यवसायमा संलग्न रहँदै उनले अर्घाखाँचीका विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा निरन्तर आवाज उठाउँदै आएका थिए । सामाजिक सञ्जालमार्फत स्थानीय मुद्दा उठाउने र जनतासँगको प्रत्यक्ष सम्पर्कका कारण उनी युवापुस्तामाझ लोकप्रिय बन्दै अहिले सघिय प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर