२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

अर्घाखाँचीका १२ उम्मेदवारको जमानत जफत

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ फागुन २५ गते २१:०६
Shares
अर्घाखाँचीका १२ उम्मेदवारको जमानत जफत

अर्घाखाँची : प्रतिनिधिसभा निर्वाचन २०८२ को मत परिणाम सार्वजनिक भएसँगै धेरै उम्मेदवारहरुको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा विभिन्न दल तथा स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दिएका थिए ।

१ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेकामा ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरूष गरी प्रत्यक्षतर्फ ८६ हजार ५ सय २६ मत खसेको थियो । जसमा ८३ हजार ३ सय ६ मत सदर भएको थियो । यो तथ्यांक अनुसार ८ हजार ३ सय ३० भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएको छ ।

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाल ३५ हजार २३ मतले विजयी हुँदा नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत र नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १८ हजार ९ सय ८३ मत प्राप्त गरे भने अन्य १२ उम्मेदवारले जमानत सम्म जोगाउन सकेनन् ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८४७ मत मात्रै प्राप्त गर्नसके । सोही कारण उनको जमानत जफत भएको छ । यस्तै एक हजार ८ सय ९ मत पाएका राष्ट्रिय जनमोर्चाका पशुपति नाथ ढकाल, ४ सय ५९ मत पाएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खिम बहादुर घर्ती मगर, २ सय ४४ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका झबिन्द्र फुल्लेलको पनि  जमानत जफत भयो । यस्तै ८ जना उम्मेदवारले एक सय मत पनि कटाएनन् ।

९४ मत पाएका नेशनल रिपब्लिक नेपालका विष्णुबहादुर गाहा, ४४ मत पाएका आम जनता पार्टीका दुर्ग बहादुर भाट क्षेत्री, ४० मत पाएका मंगोल नेशनल अर्गनाइजेसनका सुर्य बहादुर गुरुङ, ४० मत पाएका जनता समाजवादी पार्टीका टुक बहादुर चेवाली, २८ मत पाएका प्रगतिशील लोकतान्त्रिक पार्टीका पुस्कर नाथ आचार्य, २२ मत पाएका स्वतन्त्र उम्मेदवार रवि शाह, २१ मत पाएका स्वतन्त्र उम्मेदवार हिमाल भुसाल र ३ मत पाएकि स्वतन्त्र उम्मेदवार पम्फा श्रेष्ठको जमानत जफत भएको हो । 

अर्घाखाँचीमा दुवैतर्फको मतगणना सार्वजनिक भएको छ  जसअनुसार समानुपातिक मत गणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीमा पहिलो दल भएको छ ।   रास्वपाले प्रत्यक्ष भन्दा ४ हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो ।

दोस्रोमा नेकपा एमालेले २० हजार ४ सय ५१, नेपाली कांग्रेसले १७ हजार ६ सय ५१,  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ हजार ९ सय ७७, राष्ट्रिय जनमोर्चाले २३ सय ८८ र राप्रपाले ७ सय २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताएका छन् ।  

जिल्लामा १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेकोमा समानुपतिकतर्फ ८८ हजार ७ सय ३३ मत प्राप्त भएको थियो । जसमा  २५ सय ७८ म तबदर भएका छन् । ८६ हजार १ सय ५५ मत सदर भएका थिए ।

सम्बन्धित खबर