२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

डडेल्धुरा मेडिकल कलेजमा एमबिबिएस पढाइको तयारी अन्तिम चरणमा

shivam cement
राम धामी
२०८२ चैत ६ गते १२:४०
Shares
डडेल्धुरा मेडिकल कलेजमा एमबिबिएस पढाइको तयारी अन्तिम चरणमा

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमै चिकित्सा शिक्षाको महत्वपूर्ण केन्द्र बन्ने लक्ष्यसहित डडेल्धुरा मेडिकल कलेजले आगामी शैक्षिक सत्रदेखि एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । आवश्यक भौतिक संरचना, जनशक्ति र प्रशासनिक प्रक्रियाहरूलाई तीव्रता दिइएको कलेज प्रशासनले जनाएको छ ।

संघीय सरकार मातहत सञ्चालित सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल डडेल्धुरा अस्पताललाई ३०० शय्याको क्षमतामा स्तरोन्नति गर्ने प्रक्रिया पूरा भएलगत्तै एमबिबिएस कार्यक्रम सञ्चालनका लागि अनुमति प्राप्त हुने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत स्वास्थ्य विज्ञान संकायले स्पष्ट पारेको छ । हाल १०० शय्यामा सञ्चालन भइरहेको अस्पताललाई स्तरोन्नति गर्नु नै एमबिबिएस कार्यक्रमको प्रमुख आधारका रूपमा लिइएको छ ।

हाल डडेल्धुरा मेडिकल कलेजमा ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी (बिएमएलटी), बिएससी नर्सिङ र ब्याचलर्स इन पब्लिक हेल्थ (बिपिएच) कार्यक्रम सञ्चालनमा छन् । यी तीनै तहका कार्यक्रममार्फत ७६ जना विद्यार्थी अध्ययनरत छन् । बीएमएलटी कार्यक्रम तीन वर्षदेखि सञ्चालनमा छ भने नर्सिङ र पब्लिक हेल्थ कार्यक्रम गत शैक्षिक सत्रबाट सुरु गरिएको हो ।

स्वास्थ्य विज्ञान संकायका डीन डा. हेमनाथ जोशीका अनुसार एमबिबिएस कार्यक्रम सञ्चालनका लागि अस्पतालको स्तरोन्नति अनिवार्य सर्त हो । “अस्पताल ३०० शय्याको भएपछि मात्र आवश्यक मापदण्ड पूरा हुन्छ र त्यसपछि अनुमति प्रक्रियाले गति लिन्छ,” उनले बताए ।

अस्पताल स्तरोन्नतिका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पेश गरिसकिएको डडेल्धुरा अस्पताल विकास समितिले जनाएको छ । समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार स्वास्थ्य सेवा विभागले माग गरेका थप कागजातसमेत पठाइसकिएको छ र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषद् स्तरबाट निर्णय हुन बाँकी रहे पनि अब गठन हुने नयाँ मन्त्रिपरिषद्ले यस विषयमा छिट्टै निर्णय गर्ने अपेक्षा गरिएको छ ।

एमबिबिएस कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका कामहरू पनि सँगसँगै अगाडि बढिरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाका अनुसार करिब साढे चार अर्ब रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । सोही अनुसार भवन, उपकरण र जनशक्ति व्यवस्थापनको काम क्रमशः अगाडि बढाइएको छ ।

कलेज सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापनको काम पनि तीव्र गतिमा अघि बढेको छ । डडेल्धुरास्थित तुफानडाँडामा विश्वविद्यालयको नाममा ८४ रोपनी जग्गा उपलब्ध भइसकेको छ भने अस्पतालसँग २३४ रोपनी जग्गा रहेको छ । यसबाहेक थप १९१ रोपनी जग्गा उपलब्ध गराउने निर्णय अमरगढी नगरपालिकाबाट भइसकेको छ । सो जग्गाको स्वामित्व र उपयोगसम्बन्धी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले आवश्यक कागजात संकलन र समन्वयका लागि केन्द्रमा रहेर काम भइरहेको जानकारी दिए । “विभाग र मन्त्रालयबीच समन्वय गरी प्रक्रिया टुंग्याउने प्रयास भइरहेको छ, छिट्टै सकारात्मक नतिजा आउने विश्वास छ,” उनले भने ।

डीन जोशीका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्बाट निर्णय भएलगत्तै थप जग्गाको भोगाधिकारसमेत कलेजले प्राप्त गर्नेछ । यता छात्रावास र प्रशासनिक भवन निर्माणको काम पनि अघि बढिसकेको छ । चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन भई पूर्वाधार विकासलाई तीव्रता दिइएको छ ।

स्थानीय तह र सरोकारवालाहरूले डडेल्धुरालाई चिकित्सा शिक्षाका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । प्राकृतिक रूपमा शान्त र अध्ययनका लागि अनुकूल वातावरण भएकाले देशभरका विद्यार्थीलाई आकर्षित गर्ने विश्वास गरिएको छ । साथै सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थीका लागि विशेष कोटा छुट्याउने योजना पनि अघि सारिएको छ ।

यसअघि २०७८ माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि बजेट अभावका कारण एमबिबिएस कार्यक्रम सुरु हुन सकेको थिएन । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि भने योजना कार्यान्वयनमा गति आएको हो ।

आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रशासनिक प्रक्रिया पूरा हुने चरणमा पुगेकाले आगामी शैक्षिक सत्रदेखि डडेल्धुरामै एमबिबिएस अध्ययन सुरु हुनेमा सरोकारवाला पक्ष आशावादी देखिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर