२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तराई मधेशमा बालविवाहको स्थिति भयावह

ADV
पिन्टु यादव
२०८१ साउन १९ गते २२:४१
तराई मधेशमा बालविवाहको स्थिति भयावह

सप्तरी : तराई मधेशमा बालविवाहको स्थिति भयावह रहेको पाइएको छ । मधेशको शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बालविवाह गराइने क्रम बढ्दो छ ।

कानूनले तोकेको उमेर २० वर्ष पुरा नगरी गराइने बालविवाह समाजिक अपराधको रुपमा रहेपनि यस क्षेत्रमा बालविवाह न्यूनीकरण हुन सकिरहेको छैन । 

कानूनले बालविवाह दण्डनीय रहेको निर्दिष्ट गरेपनि सामाजिक एवं सांस्कृतिक परम्परा अनुसार गराइने बालविवाहविरुद्ध  मानिसहरु प्रहरीमा उजुरी चढाउँदैनन् । त्यसकारण बालविवाहको स्थिति सरकारी तथ्यांकभन्दा वास्तविकतामा भयावह देखाउँछ ।

यसैबीच सप्तरीमा विवाहका लागि कानूनले तोकेको उमेर पुरा नगरी एक जोडीले प्रेमविवाह गरेका छन् । साउन ११ गते घरबाट फरार भइ मन्दिरमा विवाह गरेका उनीहरुमध्ये केटी नाबालिका रहेको पाइएको छ । 

स्थानीयहरुका अनुसार केटाकेटी एउटै वंशभित्रको नातामा पर्ने हुन् । यसकारण उनीहरू अभिभावकको मञ्जुरीबिना विवाह गरेको बताउँछन् । स्थानीयको भनाइमा उनीहरूले कुन ठाउँको मन्दिरमा विवाह गरेको भनेर खुलेको छैन ।

जिल्लाको महादेवा गाउँपालिका–५ दुर्गापुर टोलका अन्दाजी १७  वर्षीय बिनोद कुमार मण्डल खत्वेले आफ्नै नातामा पर्ने नाबालिकालाई भगाएर प्रेम विवाह गरेको हो । साउन ११ गते घरबाट भागेका उनीहरू मन्दिरमा विवाह गरेको पाइएको छ । उनीहरू विवाह गरेको  फोटो फेसबुकमा सार्वजनिक गरेपछि बालविवाह गरेको खुलेको हो । 

नाबालिकाकी बुबाले छोरीलाई बेपत्ता बनाइएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरी खोजी गरिदिन उजुरी चढाएको पाइएको छ । उजुरीपछि अनुसन्धान थालेको प्रहरीले स्थानीय दुईजना युवकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । 

प्रहरीले घरबाट भगाउन सहयोग गरेको आरोपमा महादेवा गाउँपालिका–५ दुर्गापुर टोलका अन्दाजी २० वर्षीय भोला कुमार खंग र शिवशंकर खंगलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक अवधेश यादवले केटाकेटीको खोजी कार्य जारी रहेको बताएका छन् । उनका अनुसार नाबालिकाकी अभिभावकले प्रहरीमा खोजतलाशका लागि उजुरी दर्ता गराएपछि दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । घरबाट भागेका उनीहरू फेला परेपछि नाबालिकको बयानका आधारमा कारबाही अगाडि बढाइने उनले बताए ।

सामाजिक एवं सांस्कृतिक परम्परा अनुसार गराइने बालविवाहविरुद्ध प्रहरीमा उजुरी नआउँदा न्यूनीकरणमा समस्या देखिएपनि उमेर पुरा नगरी अन्तरजातमा गरिने प्रेमविवाह, भागिविवाहविरुद्ध अभिभावकले मात्रै उजुरी दिने गरेको पाइन्छ ।

बालविवाह अन्त्यका लागि तीनै तहका सरकारले  कडाइसाथ नीति निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । बालविवाह अन्त्यका लागि तिनै तहका सरकार प्रतिबद्ध भएर समुदायमैत्री कानून निर्माण गरी यसलाई अन्त्य गर्न सकिन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise