२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

मध्यपूर्वमा युक्रेनका राष्ट्रपति, कतारसँग १० वर्षे रक्षा सम्झौता

himalayanlife
तिलु शर्मा पौडेल
२०८२ चैत १५ गते २१:५६
Shares
मध्यपूर्वमा युक्रेनका राष्ट्रपति, कतारसँग १० वर्षे रक्षा सम्झौता

दोहा कतार : युक्रेनका राष्ट्रपति भ्लोदमेर जेलेन्स्की र कतारका अमिर (राजा) हिज हाइनेस शेख तमिम बिन हमद अल-थानीबीच भेटवार्ता भएको छ । कतार भ्रमणमा रहेका जेलेन्स्की र अमिरबीचको भेटमा मुख्यगरी पछिल्लो समयको मध्यपूर्वको क्षेत्रीय तनाव, युक्रेन संकट सहकार्यतासहित शान्तिका लागी आह्वान गर्ने बारेमा छलफल भएको बताइएको छ ।

बैठकमा युक्रेनी संकटका पछिल्ला घटनाक्रमहरूका बारेमा पनि कुराकानी भएको थियो । युक्रेनी राष्ट्रपतिले कतारको सार्वभौमसत्ता र सुरक्षाको रक्षाका लागि चालिएका कदमहरूको समर्थन गर्दै आफ्नो देशको ऐक्यबद्धता प्रकट गरे । दुवै पक्षले मध्यपूर्व र युक्रेनमा द्वन्द्व फैलाउन सक्ने सबै सैन्य कारबाहीहरू तत्काल रोक्नुपर्नेमा जोड दिए । उनीहरूले अन्तर्राष्ट्रिय सुरक्षामा पर्ने असरबारे चेतावनी दिँदै तनाव कम गर्नका लागि सबै प्रयासहरू तीव्र पार्नुपर्ने कुरामा जोड दिएका छन् ।

कतार र युक्रेनबीच रक्षा सहकार्यसम्बन्धी दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको छ । शनिबार सम्पन्न उक्त सम्झौताले दुई देशबीच सुरक्षा, प्रविधि र सैन्य क्षमताको क्षेत्रमा सहकार्य विस्तार गर्ने मार्ग खोलिएको छ । सम्झौता अनुसार दुवै देशबिच करिब १० वर्षसम्म रक्षा क्षेत्रमा सहकार्य हुने जनाइएको छ । विशेष गरी मिसाइल तथा ड्रोनबाट हुने खतराको सामना गर्न अनुभव, प्रविधि र तालिम आदान–प्रदान गर्ने विषयमा सहमति भएको बताइएको छ ।

युक्रेनले पछिल्लो समय युद्ध मैदानमा प्रयोग भइरहेका सस्तो तथा प्रभावकारी ड्रोन प्रतिरक्षा प्रविधिमा उल्लेखनीय दक्षता हासिल गरेको छ । उक्त अनुभव खाडी क्षेत्रका देशहरूसँग साझेदारी गर्ने योजना अन्तर्गत कतारसँगको सम्झौता भएको जनाइएको छ । यस सहकार्यबाट युक्रेनले उन्नत हवाई प्रतिरक्षा प्रणाली प्राप्त गर्ने अपेक्षा गरेको छ भने कतारले आफ्नो सुरक्षा संरचना मजबुत बनाउन युक्रेनी विशेषज्ञता उपयोग गर्ने लक्ष्य राखेको छ । 

साथै संयुक्त उत्पादन, ऊर्जा सहकार्य र लगानीका क्षेत्रहरूमा पनि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । यससँगै युक्रेनले अन्य खाडी सहयोग परिषद् सदस्य राष्ट्रहरूसँग पनि रक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्ने प्रयास तीव्र बनाएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमानसँग सुरक्षा संवाद, प्रविधि साझेदारी तथा सम्भावित रक्षा सम्झौताबारे छलफल अघि बढाइएको जनाइएको छ। विशेष गरी हवाई प्रतिरक्षा, साइबर सुरक्षा र ड्रोन प्रतिरोध प्रणालीमा सहकार्यका सम्भावना खोजिएको छ ।

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव र सुरक्षासम्बन्धी चुनौतीका बिच खाडी राष्ट्रहरूले आफ्नो सुरक्षा संरचना सुदृढ बनाउन नयाँ अन्तर्राष्ट्रिय साझेदारीतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । यस सन्दर्भमा युक्रेनसँगको सहकार्यलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । उनको भ्रमणका क्रममा कतारसहित खाडी क्षेत्रका अन्य देशहरूसँग पनि रक्षा तथा रणनीतिक सहकार्यबारे महत्त्वपूर्ण छलफल भएको थियो । साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग विशेष रूपमा सुरक्षा सहकार्य, लगानी तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा संवाद भएको जनाइएको छ ।

त्यसैगरी कुवेत, बहराइन र ओमानसँग पनि कूटनीतिक सम्पर्क सुदृढ गर्ने तथा दीर्घकालीन सुरक्षा साझेदारी सम्भावनाबारे छलफल भएको बताइएको छ । जेलेन्स्कीको यस भ्रमणलाई युक्रेनले आफ्नो रक्षा क्षमताको अन्तर्राष्ट्रिय विस्तार तथा नयाँ रणनीतिक साझेदारी निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ । साथै उनले ऊर्जा, लगानी र दीर्घकालीन सुरक्षा सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । यससँगै मध्यपूर्व भ्रमण सकेर उनी स्वदेश फर्किएका छन् ।

ताजा खबर

सम्बन्धित खबर