
पर्सा : पर्साको कालिकामाई गाउँपालिकामा गाउँपालिकास्तरीय ‘उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ शनिबारदेखि सुरु भएको छ । कालिकामाई गाउँपालिकाको सहयोगमा कालिकामाई क्रिकेट क्लब मुडलीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ब्याटिङ गर्दै गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युवाहरूलाई खेलकुदमा मात्र नभई देश निर्माणमा समेत सक्रिय भूमिका खेल्न आग्रह गरे ।
खेलकुदले शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने र स्थानीय तहको पहिचान देश–विदेशमा स्थापित गर्न सहयोग गर्ने भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको उनले बताए । साथै, आगामी दिनमा व्यक्तिगत तथा मधेश प्रदेश सरकारका तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता जनाए ।
वडा नम्बर १, मुडलीस्थित खेलमैदानमा भइरहेको प्रतियोगितामा आयोजक कालिकामाई क्रिकेट क्लबका साथै धोबिनी गाउँपालिका, पोखरिया नगरपालिका र बिन्दबासिनी गाउँपालिकाका टिमहरू सहभागी छन् । आयोजकका अनुसार प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष बुलट पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कालिकामाई गाउँपालिकाकी उपाध्यक्ष राजमती देवी बरैनी, अध्यक्ष पदका उम्मेदवार अजय पटेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बशिष्ठनारायण कुर्मी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा लगायत स्थानीय जनप्रतिनिधि, खेलाडी तथा दर्शकहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न उद्घाटन खेलहरूमा धोबिनी र पोखरिया विजयी भएका छन् । पहिलो खेलमा कालिकामाईले ११८ रनको लक्ष्य दिएकोमा धोबिनीले ११९ रन जोड्दै पूरा ग¥यो । अर्को खेलमा पोखरियाले १६४ रन बनाएको थियो भने बिन्दबासिनी १४१ रनमै अलआउट भएपछि पोखरिया विजयी भयो ।