
सिरहा : पछिल्ला केही दिनयता जिल्लामा अत्यधिक गर्मीका कारण तातो हावा (लु)को प्रभाव बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको सूचनामा बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरू विशेष जोखिममा रहेको उल्लेख गरिएको छ ।
प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सुझाव दिँदै बाहिर जानै परेमा टाउको राम्रोसँग छोप्ने- जस्तै छाता, टोपी वा कपडाको प्रयोग गर्न आग्रह गरेको छ । त्यसैगरी शरीरमा पानीको मात्रा सन्तुलित राख्न प्रशस्त मात्रामा सफा पानी, जुस, लस्सी तथा सर्बतजस्ता तरल पदार्थ सेवन गर्न पनि सुझाइएको छ ।
सूचनामा हल्का, पातलो र सुती कपडा लगाउने, लामो समयसम्म घाममा नबस्ने तथा सकेसम्म चिसो र हावायुक्त स्थानमा बस्ने जस्ता उपाय अपनाउन भनिएको छ । साथै बालबालिका, वृद्धवृद्धा र बिरामीहरूको विशेष हेरचाह गर्न सबैलाई आग्रह गरिएको छ ।
यदि टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने, शरीर कमजोर हुने वा बेहोस हुनेजस्ता समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
