
सप्तरी : वर्षौंदेखि अतिक्रमणको चपेटामा परेको सप्तरीको चन्द्रनहर क्षेत्र अब खाली गराइने भएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयले नहर आसपास बनाइएका घरटहरा हटाउन प्रक्रिया तीव्र बनाएको छ ।
सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्रनहर हेडबाँधमा सरोकारवालासहित बसेको बैठकले पहिलो चरणमै १ सय २६ वटा घरटहरा हटाउने निर्णय गरेको छ । यी संरचना नहरको डिलभित्र पर्ने भएकाले तत्काल हटाउनुपर्ने निष्कर्ष निकालिएको हो ।
यसअघि कार्यालयले गत चैत १६ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो । तर सूचना बेवास्ता भएपछि अब प्रशासनले कडाइका साथ कदम अघि बढाएको जनाएको छ ।
कार्यालय प्रमुख इन्जिनियर वीरेन्द्र यादवका अनुसार नहर क्षेत्रमा बसोबास गरिरहेका सबैलाई एउटै दृष्टिले नहेरी वास्तविक सुकुमवासीको पहिचान गरिनेछ । पहिचानपछि उनीहरूलाई स्थानान्तरण गर्न १५ दिनभित्र उपयुक्त जग्गा छनोट गर्ने जिम्मा सप्तकोशी नगरपालिकालाई दिइएको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल, जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादवलगायतको सहभागिता रहेको थियो ।
स्थानीय प्रशासनले नहर संरक्षणसँगै वास्तविक सुकुमवासीको व्यवस्थापनलाई सन्तुलित रूपमा अघि बढाउने जनाएको छ ।