२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

रौतहटमा नम्बर प्लेटविहीन र ओभरलोड टिपरको मनपरी, नियमन निकाय मौन

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख १६ गते १९:३३
Shares
रौतहटमा नम्बर प्लेटविहीन र ओभरलोड टिपरको मनपरी, नियमन निकाय मौन

रौतहट : जिल्लाका नदीजन्य सामग्री उत्खनन क्षेत्रबाट बालुवा र गिट्टी बोक्ने टिपरहरूले ट्राफिक नियमको खुलेआम उल्लंघन गरिरहेको पाइएको छ । यस्ता सवारी साधनले पछाडिको नम्बर प्लेट नराखी तथा क्षमताभन्दा बढी भार बोकेर सञ्चालन गर्दा पनि सम्बन्धित निकाय प्रभावकारी रूपमा सक्रिय नदेखिएको भन्दै आलोचना बढेको छ ।

ncell

स्थानीयका अनुसार पछिल्लो समय सडकमा गुड्ने धेरैजसो टिपरहरूले नियतवश नम्बर प्लेट हटाउने वा छोप्ने गरेका छन् । दुर्घटना भएमा पहिचान लुकाउन सजिलो हुने उद्देश्यले यस्तो अभ्यास भइरहेको आरोप छ । धुलो वा हिलोका कारण नम्बर प्लेट नदेखिएको दाबी गरिए पनि अधिकांश अवस्थामा जानाजानी नम्बर मेटिएको देखिन्छ ।

ओभरलोड गरी सञ्चालन गरिएका यस्ता टिपरका कारण जिल्लाका सडक संरचना समेत प्रभावित बनेका छन् । ठुलो लगानीमा निर्माण गरिएका सडकहरूमा खाल्डाखुल्डी बढ्दै गएको छ भने टिपरबाट झर्ने बालुवा र गिट्टीका कारण मोटरसाइकल लगायत साना सवारी साधन दुर्घटनाको जोखिममा परेका छन् ।

No description available.

यस विषयमा स्थानीय प्रशासन र ट्राफिक प्रहरीको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ । सर्वसाधारणले साना सवारी साधनमाथि कडाइ गर्ने तर ठुला नियम उल्लंघन गर्ने सवारीलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । ‘चोकमा मोटरसाइकल जाँच कडा हुन्छ, तर नम्बर प्लेट नभएका ओभरलोड टिपरहरू खुलेआम गुडिरहेका हुन्छन्,’ एक स्थानीयले आक्रोश व्यक्त गरे ।

अवैध उत्खनन र नियमविपरीत सञ्चालन भइरहेका सवारी साधन नियन्त्रण गर्नुपर्नेमा पर्याप्त पहल नभएको भन्दै नागरिक स्तरबाट दबाब बढ्दै गएको छ ।

रौतहटमा बढ्दो दुर्घटना जोखिमलाई ध्यानमा राख्दै सरोकारवालाले टिपरहरूमा नम्बर प्लेट अनिवार्य कार्यान्वयन गर्न र ओभरलोड नियन्त्रणका लागि तत्काल कडाइ गर्न माग गरेका छन् ।

सम्बन्धित खबर