
रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले पछिल्लो समय सेवाप्रवाहलाई जनमुखी बनाउँदै नागरिकका गुनासो सुन्ने र तत्काल समाधान गर्ने काममा सक्रियता बढाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा अघि बढाइएको कार्यशैलीले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ ।
प्रशासनिक कामकाजलाई परम्परागत फाइल र कार्यालयमा सीमित नराखी नागरिकसँग प्रत्यक्ष जोड्ने प्रयास गरिएको छ । सेवाग्राहीहरूले झन्झटिलो प्रक्रियाबाट राहत पाएको र कर्मचारीहरूको व्यवहारमा सुधार आएको अनुभव सुनाउन थालेका छन् । कार्यालयमा सेवा लिन आउने नागरिकलाई सहज र छिटो सेवा दिन प्राथमिकता दिइएको प्रशासनको भनाइ छ ।
विशेषगरी ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सेवा प्रवाहमा सहजीकरण गरिएको छ । प्रजिअ भुसालले यस्ता सेवाग्राहीप्रति व्यक्तिगत चासो राख्दै आवश्यक सेवा उपलब्ध गराउँदै आएका छन्। ‘प्रशासन जनताको सेवक हो’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै ज्येष्ठ नागरिकलाई कार्यकक्षमै बोलाएर सम्मानपूर्वक सेवा दिने अभ्यास थालिएको छ ।
शान्ति सुरक्षा कायम राख्ने, विकास निर्माणका काममा हुने ढिलासुस्ती नियन्त्रण गर्ने तथा भ्रष्टाचार न्यूनीकरणमा समेत प्रशासनले सक्रियता देखाएको छ । जिल्लाका विभिन्न स्थानबाट आएका गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने अभ्यासले सरकारी निकायप्रति नागरिकको विश्वास बढ्दै गएको स्थानीयको भनाइ छ ।
चुनौतीपूर्ण मानिने रौतहट जिल्लामा छोटो अवधिमै देखिएको प्रशासनिक सुधार र सेवामुखी व्यवहारले सकारात्मक प्रभाव पारेको छ । प्रशासनले आगामी दिनमा सेवाप्रवाहलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ, जसले नागरिकले राज्यको सेवा प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने अपेक्षा गरिएको छ ।