२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जीर्ण बन्यो चन्द्र नहर : राज्यको पुगेन ध्यान, हजारौं किसान प्रभावित

ADV
पिन्टु यादव
२०८१ साउन २३ गते ०६:४५
जीर्ण बन्यो चन्द्र नहर : राज्यको पुगेन ध्यान, हजारौं किसान प्रभावित

सप्तरी : अविरल वर्षापछिको बाढीले चन्द्र नहरमा क्षति पुर्‍याएको छ । केहीदिन अघिको बाढीले सप्तरी खण्डमा पर्ने तीन ठाउँ नहर फुटाएको छ । महुली खोला नजिकै २५ मिटर, बडहरा नजिकै १६ मिटर र बनरा खोला नजीक १५ मिटर नहर फुटेको हो ।

नहर फुटेपछि समयमा बाँध निर्माण नगरेकाले मैनाकडेरीदेखी तलका किसानहरुको सिंचाइ प्रभावित भएको छ । चन्द्र नहर सिंचाइ प्रणालीका इन्जिनियर प्रमोद जयसवाल महादेवासम्म फेरि पानी पठाउने गरी काम गरिने बताउँछन् ।तर, स्थानीय किसान चन्द्र नहरको व्यवस्थापनमा सरकारले आवश्यक ध्यान नदिँदा आफूहरु समस्यामा पर्दै आएको बताउँछन् । 

तीन वटै तहका सरकारका प्रतिनिधिहरू किसानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउँछन् । तर व्यवहार त्यसअनुरुप नहुँदा सप्तरीको जीर्ण बनेको चन्द्र नहर मर्मत हुन सकेको छैन । अहिले सिंचाई समस्याले हजारौं किसान प्रभावित भइरहेका छन् । पछिल्लो दुईदशकदेखि सुनैर खोला र महुलीखोला बीच पर्ने खण्डमा वर्षेनि नहर फुट्ने गरेको छ । यो समस्याको दीर्घकालीन समाधान नहुँदा हजारौं किसानहरुको सिंचाई नपाएर प्रभावित हुने गरेका छन् ।

बनरा खोला, सुनैर खोला र महुली खोलाबीचमा आउने गरेको पानीले वर्षेनि नहर फुट्ने समस्याका कारण सिंचाइ प्रभावित हुने गरेको किसानहरूको गुनासो छ । अकाशे पानीको भरमा खेती हुने किसानका लागी चन्द्र नहर वैकल्पिक सिंचाइ प्रणाली हो । तर, शताब्दी पुरानो नहर फुट्दा किसान प्रभावित हुने गरेका छन् ।

यो नहर नेपाल–जापान सरकारको मैत्रीपुर्ण सहयोगमा पुनः निर्माण समेत भईरहेको छ । आधुनिक चन्द्र नहरमा ११ दशमलव ५ घनमिटर पानी डिस्चार्ज हुने चन्द्र नहर सिंचाइ प्रणालीका इन्जिनियर जयवालले बताए । उनका अनुसार नहरमा पर्ने सैफन र पुलहरुको काम प्रगतिमा रहेको छ । चन्द्र नहरको पानीबाट सिंचाइ हुने तिरहुत, महादेवा र अग्निसाइर कृष्णसंवरण गाउँपालिकाका किसानहरुलाई प्रजातन्त्र बहालीपछि नियमित पानी प्रवाह गर्न सकेको छैन ।

तर चन्द्र नहर सिंचाइ प्रणालीमा करोडौं रकम खर्च हुँदा समेत किसानहरु वर्षेनी मारमा परिरहेका हुन् । किसानप्रति चन्द्र नहर संस्थान उत्तरदायी नहुँदा किसानहरुको अपेक्षित उत्पादनमा कमि आउने गरेको बताउँछन् ।

सप्तकोसी नगरपालिका–९ का किसान श्याम नारायण यादवले चन्द्र नहरलाई केही व्यक्तिले दुहुनो गाई बनाएको आरोप लगाएका छ्न । अखिल नेपाल किसान महासंघको अगुवाईमा सोमबार जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय राजविराज पुगेका उनले मुलनहर र शाखा नहरहरुको उपभोक्ता समन्वय समिति पुनःगठन गर्नुपर्ने बताएका छ्न । शाखा नहरहरुमा समेत पुनः निर्माण आवश्यक रहेको बताउँदै उनले सो बारे सरकारको ध्यानाकर्षण गराए ।

चन्द्र नहर सप्तरीको उत्तरपूर्वी क्षेत्रमा राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरले स्थापना गरेको नेपालको पहिलो सिंचाइ परियोजना हो । यसको निर्माण वि.स. १९७९ मा शुरु भई वि.स.१९८५ मा सम्पन्न भएको थियो । 

करिब ३१ किलोमिटर लामो चन्द्र नहरबाट सप्तकोसी नगरपालिका, कन्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका, महादेवा गाउँपालिका र अग्निसाइर कृष्णसंवरण गाउँपालिका–४ का ग्रामिणक्षेत्रका  किसानहरुलाई सिंचाइ सुविधा पुर्‍याइरहेको छ । 

सप्तरी र उदयपुरको सिमाना नदी त्रीयुगादेखि दुई किलोमीटर उत्तरमा पर्ने काली खोलाबाट पानी ग्रामीण क्षेत्रमा पुर्‍याउन यो नहरको डिजाइन नेपालको पहिलो इन्जिनियर डिल्लीजंङ थापाले गरेका थिए । यस नहरबाट सप्तरीका लगभग साढे १० हजार हेक्टर जमिनमा सिंचाइ हुने गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise