
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बालासुन्दरी माध्यमिक विद्यालय विगत आठ वर्षदेखि विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन हुन नसक्दा विद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित बनेको छ ।
शिक्षा ऐनअनुसार सामुदायिक विद्यालय सञ्चालन, अनुगमन र आर्थिक पारदर्शिताका लागि अनिवार्य मानिने व्यवस्थापन समिति लामो समयदेखि नबन्दा विद्यालय सञ्चालनमै समस्या देखिएको हो ।
विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार यादव का अनुसार समिति नहुँदा सामाजिक लेखापरीक्षण, वार्षिक योजना पारित, शिक्षक सरुवा सहमति, भौतिक पूर्वाधार विकासलगायत महत्वपूर्ण निर्णय प्रक्रियामा कठिनाइ भइरहेको छ ।
उनका अनुसार नियमित प्रशासनिक कामसँगै गुणस्तरीय शिक्षण सिकाइ र शिक्षकहरूको वृत्तिविकाससमेत प्रभावित बनेको छ । ‘धेरै निर्णय व्यवस्थापन समितिमार्फत गर्नुपर्ने हुन्छ, तर समिति नै नहुँदा काम अघि बढाउन सकिएको छैन,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राजेन्द्र प्रसाद यादवले राजनीतिक सहमति अभावका कारण नयाँ समिति गठन हुन नसकेको आरोप लगाए । उनका अनुसार दलगत भागबन्डाका कारण लामो समयदेखि प्रक्रिया अवरुद्ध छ ।
त्यस्तै स्थानीयवासी चंदन कुमार यादव ले व्यवस्थापन समिति नहुँदा आर्थिक पारदर्शिता, शिक्षक व्यवस्थापन र लेखापरीक्षणसम्बन्धी काम प्रभावित भएको बताए । अभिभावकहरूले पनि विद्यालयको शैक्षिक सुधारमा ढिलाइ भएको गुनासो गरेका छन् ।
हाल विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने व्यवस्था छ । विद्यालयमा ५ सय ५६ छात्रा र ४ सय ४० छात्र गरी कुल ९ सय ९६ विद्यार्थी अध्ययनरत छन् । तर व्यवस्थापन संरचना कमजोर हुँदा दीर्घकालीन विकास योजना प्रभावकारी रूपमा अघि बढ्न नसकेको स्थानीयको भनाइ छ ।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार व्यवस्थापन समिति विद्यालयको प्रमुख नीतिगत संरचना भएकाले यसको अभावले आर्थिक अनुशासन, योजना निर्माण र अभिभावक–विद्यालय समन्वयमा प्रत्यक्ष असर पार्ने गर्छ ।
स्थानीयवासी इन्दल मण्डलले सम्बन्धित निकायलाई तत्काल समिति गठन प्रक्रिया टुंग्याएर विद्यालयको शैक्षिक अवस्था सुधार गर्न माग गरेका छन् ।