२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

करको दर पुनर्विचार गर्न उपमहानगरलाई ध्यानाकर्षण

ADV
राजकुमार के.सी.
२०८१ साउन २३ गते २२:१२
करको दर पुनर्विचार गर्न उपमहानगरलाई ध्यानाकर्षण

मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले सहकारी संघसंस्थाहरुको लागि गत नगर सभाबाट पारित सहकारी संघसंस्थाले तिर्ने व्यवसाय करको दर अव्यवहारिक रुपमा वृद्धि गरेकोमा सोको पुनर्विचारको गर्न उपमहानगरलाई सहकारी सञ्जाल मकवानपुरले ध्यानाकर्षण गराएको छ ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा मंगलबार हेटौंडामा बसेको जिल्ला सहकारी सञ्जालको बैठकले सो कर सहकारी संघसंस्थाको हितमा नभएकोले पुनर्विचार गर्नको लागि ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

सोही अनुसार सहकारी सञ्जाल मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । 

ध्यानकर्षण पत्रमा ‘सहकारी क्षेत्रको आर्थिक अवस्था जटिल भइरहेको समयमा सरोकारवालाहरुसँग बिना परामर्श एकपक्षीय रुपमा अवैज्ञानिक र अव्यवहारिक रुपमा वृद्धि भएको व्यवसाय करलाई व्यवहारिक र एकरुपता कायम गर्नका लागि अविलम्ब करको दर पुनर्विचार गर्न अनुरोध गर्दछौं’ उल्लेख गरिएको छ ।

गत नगरसभाले हेटौंडा उपमहानगरपालिकामा रहेका बहुउद्देश्यीय सहकारी संघसंस्थाहरुलाई वार्षिक १२ हजार रुपैयाँ, बचत तथा ऋण सहकारी संघसंस्थाहरुलाई ८ हजार रुपैयाँ, अन्य सहकारी संघसंस्थाहरुलाई ५ हजार, दुग्ध उत्पादक र कृषि सहकारी संघसंस्थाहरुलाई १ हजार पाँच सय रुपैयाँ व्यवसाय कर निर्धारण गरेको थियो ।

अघिल्लो वर्ष उपमहानगरपालिकाले सबै विषयका सहकारी संघसंस्थाका लागि समान २ हजार ५ सय रुपैयाँ ब्यवशाय कर लिने गरेको थियो ।

सहकारी सञ्जाल मकवानपुरले दुग्ध उत्पादक र कृषि सहकारी संघसंस्थाहरुलाई उपमहानगरपालिकाले गत वर्षभन्दा व्यवसाय कर घटाएकोमा धन्यवाद दिँदै बाँकी संघसंस्थाहरुको हकमा वृद्धि गरिएको करको दरलाई घटाई दुग्ध उत्पादक र कृषि सहकारी संघकै समान दर कायम गर्न अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मिना कुमारी लामाले करको दरलाई अर्को नगरसभाबाट परिमार्जन गर्ने बताइन् ।

त्यस्तै उपप्रमुख राजेश बानिँयाले सहकारी संघसंस्थाको व्यवसाय कर निर्धारणको सन्दर्भमा सहकारी सञ्जालको सुझावलाई आत्मसाथ गरि अगाडि बढ्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा मकवानपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष हरिप्रसाद कँडेल, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुरकी उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैंक लि., बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन, फिल्ड कार्यालय हेटौंडाका इञ्चार्ज बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise