
रौतहट : विश्व सुर्तीजन्य पदार्थरहित दिवस को अवसरमा आइतबार रौतहटको सदरमुकाम गौरमा भव्य जनचेतनामूलक प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुर्तीजन्य पदार्थको सेवन त्यागौँ स्वस्थ जीवनको आधार निर्माण गरौँ भन्ने मूल उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूको सक्रियतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रभातफेरि तथा प्रदर्शन
आइतबार बिहान गौरको मुख्य चोकबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागहरूको परिक्रमा गरेको थियो । प्रभातफेरिमा सहभागीहरूले सुर्तीजन्य पदार्थ, मादक पदार्थ र लागुऔषधले स्वास्थ्य र समाजमा पार्ने नकारात्मक प्रभावका विरुद्ध विभिन्न सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरेका थिए ।
कार्यक्रमको नेतृत्व जिल्लाका प्रमुख अधिकारीले गरेका थिए । जसमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको विशेष उपस्थिति रहेको थियो । यस्तै सुरक्षा निकायका तर्फबाट जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक सिताराम रिजाल र राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका प्रमुख कुमार बुढाथोकी लगायत अन्य सुरक्षा अधिकारीहरूको बाक्लो उपस्थिति थियो ।
विद्यार्थी र सरोकारवालाको भूमिका
प्रभातफेरिमा सुरक्षाकर्मीहरूका साथै विभिन्न विद्यालयका विद्यार्थीहरू, नागरिक समाजका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यालयका स-साना विद्यार्थीहरूले लागुऔषध मुक्त समाजको माग गर्दै र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्नुपर्ने सन्देश प्रवाह गरेका थिए ।
अन्तरक्रिया तथा पैरवी कार्यक्रम
प्रभातफेरिपश्चात् आयोजित अन्तरक्रिया तथा पैरवी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले सुर्तीजन्य पदार्थ र लागुऔषध नियन्त्रण केवल प्रहरी वा प्रशासनको मात्र जिम्मेवारी नभई सम्पूर्ण समाजको सामूहिक दायित्व भएको बताए । सुर्तीजन्य र मादक पदार्थले युवा पुस्तालाई गलत बाटोमा डोर्याइरहेको छ । यसको न्यूनिकरणका लागि घर विद्यालय र समुदायबाटै अभियान सुरु गर्न आवश्यक छ प्रजिअ भुषालले जोड दिए ।
त्यस्तै प्रहरी उपरीक्षक सिताराम रिजालले लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले अपरेसन सँगसँगै अवेयरनेस (सचेतना) लाई पनि उत्तिकै प्राथमिकता दिएको जानकारी दिए । उनले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार रोक्न र विद्यालयस्तरमा सचेतना फैलाउन प्रहरी सदैव तत्पर रहेको उल्लेख गरे ।
कार्यक्रममा मुख्य गरी निम्न विषयहरूमा छलफल र पैरवी गरिएको थियो:
सार्वजनिक स्थलहरूमा धूम्रपान र मद्यपान निषेधको प्रभावकारी कार्यान्वयन, विद्यालय क्षेत्रको १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण बन्देज, युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउन खेलकुद र रचनात्मक कार्यमा संलग्न गराउने, घरेलु मदिरा र सीमावर्ती क्षेत्रबाट हुने अवैध लागुऔष ओसारपसारमा कडाइ, कार्यक्रमको समापन गर्दै आयोजकले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक अभियानलाई जिल्लाका सबै स्थानीय तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।