
काठमाडौं : गत आर्थिक वर्षमा पदयात्रा र तीर्थयात्राका लागि अन्नपूर्ण क्षेत्रमा पुगेका २१ जना पर्यटकले ज्यान गुमाए । तीमध्ये नौजना विदेशी पर्यटक थिए । पछिल्लो समय बिदाको सदुपयोग गर्दै पदयात्राका निम्ति हिमाली क्षेत्रमा जाने क्रम बढ्दो छ । तर रमाइलोका लागि गरिएको यात्राले कहिलेकाहीँ ज्यानै लिन सक्छ । पदयात्राका नियम, भौगोलिक अवस्थाबारे पर्याप्त जानकारी र आफ्नै स्वास्थ्य अवस्थाको मूल्यांकन नगरी यात्रा गर्दा यस्ता घटना हुने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार आर्थिक वर्ष २०८०/८१मा लेक लागेर २१ जना पर्यटकको मृत्यु भएको थियो । तीमध्ये ६ जना नेपाली थिए । आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार मृत्यु हुनेमध्ये ११ जना भारतीय, दुईजना मलेसियाली, एकजना युक्रेनी र एकजना बेलायती नागरिक थिए ।
विशेषगरी मुस्ताङको मुक्तिनाथ, मनाङ, डोल्पा, मर्दी हिमाललगायत हिमाली क्षेत्रमा लेक लाग्ने समस्या बढी देखिन्छ । पछिल्ला वर्षमा उच्च पहाडी र हिमाली भेगमा घुम्न जाने पर्यटकको संख्या बढेसँगै लेक लागेर मृत्यु हुने घटनामा पनि वृद्धि भएको छ । मुख्य पर्यटकीय याम चैतदेखि जेठ र असोजदेखि मंसिरसम्म यस्ता घटना बढी हुने गरेका छन् ।
डोल्पा जिल्लाको नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंह यार्सागुम्बा संकलनका लागि जेठ १२ गते तिनजाङखोला पाटन पुगेका थिए । तर खोजतलासका क्रममा जेठ १७ गते बुद्ध गाउँपालिका–५ मा उनको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय लेक लागेर मृत्यु हुनेको संख्या बढ्दो छ । पर्याप्त तयारी र जानकारीबिना हिमाली क्षेत्रमा भ्रमण गर्दा यस्ता घटना हुने गरेका छन् । प्राधिकरणका तथ्यांकअनुसार विपद्का घटनामध्ये लेक लागेर मृत्यु हुने घटनाको संख्या उल्लेख्य छ । पछिल्लो डेढ महिनामा मात्रै लेक लागेर १८ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार गत वर्ष वैशाखदेखि चैत मसान्तसम्म लेक लागेर ४१ जनाको मृत्यु भएको थियो भने १०४ जना घाइते भएका थिए ।
प्राधिकरणका विपद् विज्ञ दीपकविक्रम थापा क्षेत्रीका अनुसार पदयात्रामा आवश्यक पूर्वतयारी र जानकारीको अभाव नै लेक लाग्ने प्रमुख कारण हो । उनले भने, ‘आजभोलि पदयात्रा सहज र पहुँचयोग्य भएको छ । सामाजिक सञ्जालका लागि राम्रो फोटो र भिडियो खिच्ने उद्देश्यले धेरैजना हतारमा उच्च हिमाली क्षेत्रमा पुग्ने गर्छन् । तर आवश्यक सामग्री, स्वास्थ्य अवस्था र यात्रा नियमबारे ध्यान नदिँदा लेक लाग्ने समस्या देखिएको छ ।’
उनका अनुसार ट्रेकिङका आधारभूत नियम नबुझ्नु र आफ्नो स्वास्थ्य अवस्थाको मूल्यांकन नगर्नु पनि जोखिमको कारण हो । ‘श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई झन् बढी जोखिम हुन्छ । केही अवस्थामा एक्कासि उच्च उचाइमा पुग्दा हृदयाघातसमेत भएको छ,’ उनले भने ।
विशेषगरी युवापुस्तामा पर्याप्त प्रशिक्षणबिना उच्च हिमाली क्षेत्रमा जाने प्रवृत्ति बढ्दो रहेको उनको भनाइ छ । ‘कति उचाइसम्म जाने भन्ने पनि नियम हुन्छ । शरीरलाई त्यहाँको वातावरणसँग घुलमिल हुन समय दिनुपर्छ । एकैदिन धेरै उचाइमा चढ्ने प्रयास गर्नुहुँदैन । केही दिन त्यहाँको भौगोलिक अवस्था, मौसम र हावापानीसँग अनुकूलन भएपछि मात्रै थप उचाइतर्फ जानुपर्छ,’ उनले सुझाव दिए ।
उच्च हिमाली क्षेत्रमा तापक्रम कम हुने र हावामा अक्सिजनको मात्रा घट्ने भएकाले अक्सिजन सन्तुलनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कसरी लाग्छ लेक ?
विपद् विज्ञ थापाका अनुसार समुद्री सतहदेखि करिब २,५०० मिटरभन्दा माथिको उचाइमा पुगेपछि लेक लाग्ने सम्भावना बढ्छ । अक्सिजनको कमीका कारण हुने यो अवस्थालाई चिकित्सकीय भाषामा हाइपोबारिक हाइपोक्सिया भनिन्छ ।
उचाइ बढ्दै जाँदा वायुमण्डलीय चाप र अक्सिजनको उपलब्धता घट्दै जान्छ । शरीरलाई यस्तो वातावरणमा अभ्यस्त हुन समय लाग्छ । नयाँ वातावरणमा अनुकूलन हुने क्रममा शरीरले छिटो–छिटो सास फेर्ने तथा अक्सिजनको मात्रा बढाउने प्रयास गर्छ । तर शरीरले पर्याप्त रूपमा अनुकूलन गर्न नसके लेक लाग्ने समस्या देखिन्छ ।
लेक लाग्दा देखिने लक्षण
लेक लाग्ने समस्या जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन सक्छ । यसको असर सामान्यदेखि गम्भीर अवस्थासम्म पुग्न सक्छ ।
पहिलो चरणमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, थकान महसुस हुने र कमजोरी देखिने गर्छ ।
दोस्रो चरणमा फोक्सोमा पानी जम्ने, फोक्सो सुन्निने तथा श्वासप्रश्वासमा गम्भीर समस्या देखिन सक्छ ।
तेस्रो र सबैभन्दा जोखिमपूर्ण चरणमा मस्तिष्क सुन्निन थाल्छ । फोक्सो वा मस्तिष्क सुन्निएका बिरामीले समयमा उपचार नपाए अवस्था गम्भीर बन्दै मृत्यु हुन सक्छ ।
विपद् विज्ञ थापाका अनुसार लेक लाग्ने प्रारम्भिक लक्षण देखिनेबित्तिकै यात्रा रोक्नुपर्छ र कम उचाइ भएको स्थानतर्फ फर्किनुपर्छ । पदयात्राका क्रममा प्रशस्त पानी पिउनु, आराम गर्नु तथा झोलिलो खानेकुरा सेवन गर्नु लाभदायक मानिन्छ । विशेषगरी पहिलोपटक धेरै उचाइमा पुग्ने व्यक्तिमा लेक लाग्ने जोखिम बढी हुने भएकाले थप सावधानी अपनाउन आवश्यक छ ।