२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गर्मीसँगै ‘लू’को जोखिम

Nada
सपना बोहरा
२०८३ जेठ १९ गते २१:४४
Shares
गर्मीसँगै ‘लू’को जोखिम

काठमाडौं : विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव सुरेश पन्थीले विश्वव्यापी समस्याका रूपमा रहेको तातो हावा (लू)को प्रभाव न्यूनीकरणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

ncell

नेपाल रेडक्रस सोसाइटीद्वारा आयोजित ‘हिट एक्सन डे’को अवसरमा आयोजित कार्यक्रममा उनले बढ्दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाललगायत एसियाली क्षेत्रमा गम्भीर असर परेको बताए । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न प्रभावकारी नीति तथा योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

पन्थीका अनुसार तातो हावा (लू) प्रभावित क्षेत्रमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै गृह मन्त्रालयले सम्भावित जोखिमपूर्ण घटनाको रोकथाम तथा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले तराई क्षेत्रमा प्रि–मनसुनी गतिविधि कमजोर हुने भएकाले वर्षा कम र गर्मी बढी हुने बताए ।

बढ्दो गर्मीका कारण विद्यार्थी, कृषि कार्यमा संलग्न व्यक्तिहरू, महिला, बालबालिका, मजदुर तथा ज्येष्ठ नागरिकजस्ता जोखिम समूह बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन उनले सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आइएफआरसी)का प्रतिनिधि प्रमुख डेभिड फिसरले भने, ‘हामीले गरेको अध्ययनअनुसार सन् २०२४ जुनदेखि २०२५ जुनसम्म करिब ४ अर्ब मानिसहरूले जलवायु परिवर्तनका कारण पहिलेको तुलनामा कम्तीमा एक महिना बढी अत्यधिक गर्मीको सामना गर्नुपरेको छ । गर्मीजन्य मृत्युका तथ्यांकहरू अनुमान मात्र हुन्, किनभने यस्ता मृत्यु सजिलै ट्र्याक गर्न सकिँदैन ।’

उनले थपे, ‘गर्मीले विशेषगरी श्वासप्रश्वास रोगी, मुटु तथा मिर्गौला रोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्छ र हिट स्ट्रोक तथा डिहाइड्रेसन जस्ता स्वास्थ्य समस्या निम्त्याउँछ ।’

जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले जलस्रोत, कृषि, ऊर्जा तथा अन्य विकास गतिविधिका लागि जल तथा मौसमसम्बन्धी तथ्यांक र सूचनाको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

‘विपद् व्यवस्थापन अधिकारी तथा सम्बन्धित समुदायलाई पूर्वसूचना सेवा उपलब्ध गराएर मौसम, बाढी तथा खडेरीजन्य प्रकोप न्यूनीकरणमा विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भनिन् ।

उनले समुद्रको सतहको तापक्रममा आएको परिवर्तन तथा विकसित हुँदै गरेको एल निनोको प्रभावका कारण नेपाललगायत एसियाली देशमा यस वर्षको मनसुनी अवधिमा तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरिएको जानकारी दिइन् । तातो लहरका कारण लूलगायत स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भएकाले अनुकूलनका उपाय अवलम्बन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले जलवायु परिवर्तनका कारण बढ्दो गर्मीको प्रभाव न्यूनीकरण गर्न विश्वभर ‘हिट एक्सन डे’ अर्थात् गर्मीसम्बन्धी सचेतना दिवस मनाइँदै आएको बताए ।

उनका अनुसार अत्यधिक गर्मी तथा तातो हावाले निम्त्याउने लूको जोखिम कम गर्न र सुरक्षित रहने उपायबारे जनचेतना फैलाउने अभियानलाई ‘हिट एक्सन’का रूपमा लिइएको छ । रेडक्रसले तातो हावाबाट प्रभावित क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

विश्वभर पाँचौं संस्करणको ‘हिट एक्सन डे–२०२६’ मनाइएको छ । अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने तथा गर्मीबाट सुरक्षित रहने उपायहरूबारे जानकारी साझा गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आइएफआरसी)को आह्वानमा मनाइने यस वर्षको दिवसको मुख्य विषयवस्तु ‘इनडोर हिट’ रहेको छ । दिवसका अवसरमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रभित्र बढ्दो तापक्रमले मानव स्वास्थ्यमा पार्ने असरप्रति विशेष ध्यान केन्द्रित गरिएको छ ।

‘हिट एक्सन डे’ पहिलोपटक सन् २०२२मा सुरु गरिएको थियो । त्यसयता रेडक्रस तथा रेड क्रिसेन्टका राष्ट्रिय संस्थाहरू, स्थानीय सरकार, समुदाय तथा साझेदार संस्थाहरूको सहभागितामा विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर