
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै लामो समयदेखि रोकिएको कर्मचारीहरूको तलब भुक्तानी प्रक्रिया सुरु भएको छ ।
कार्यबाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका उपप्रमुख इम्तियाज आलमको पहलमा कर्मचारीहरूको तलब निकासा गरिएको महानगरपालिकाले जनाएको छ । आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप वितरण गरिएको छ ।
लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी र १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ । यस्तै १२० जना करार सेवाका कर्मचारी तथा १३ जना करार सवारी चालकलाई चार महिनाको तलब निकासा गरिएको छ ।
महानगरपालिकाले बाँकी रहेका ६८४ जना कर्मचारीको खातामा पनि आजभोलिमै तलब रकम जम्मा गर्ने तयारी गरेको जनाएको छ । पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको र चार महिनादेखि तलब रोकिएकालाई तीन महिनाको तलब भुक्तानी गरिने राउतले जानकारी दिए ।
वीरगन्ज महानगरपालिकामा स्थायी कर्मचारीको चार महिनादेखि तथा करार कर्मचारीको पाँच महिनादेखि तलब रोकिएको थियो । पहिलो चरणमा स्थायी कर्मचारीलाई तीन महिनाको र करार कर्मचारीलाई चार महिनाको तलब उपलब्ध गराइएको हो ।
महानगरपालिकामा मासिक रूपमा १ हजार १५१ कर्मचारी कार्यरत छन् । उनीहरूको तलबबापत मासिक करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च हुने गरेको छ ।
यसैबीच, महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको निजी साझेदार एनके इन्टरनेशनल प्रालिको पाँच महिनादेखिको भुक्तानी पनि बाँकी रहेको स्रोतले जनाएको छ । महानगरपालिकाको वित्तीय अवस्थाका कारण एकैपटक सम्पूर्ण रकम भुक्तानी गर्न नसकिने भएकाले तत्काल दुईदेखि तीन महिनाको बक्यौता रकम निकासा गर्न कार्यवाहक नगरप्रमुख आलमले निर्देशन दिएको बताइएको छ ।
स्रोतका अनुसार नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद तथा प्रशासनिक व्यवस्थापनमा देखिएको समस्याका कारण कर्मचारीहरूको तलब लामो समयसम्म रोकिएको थियो । तलब भुक्तानी प्रक्रिया सुरु भएसँगै कर्मचारीहरूमा केही राहत महसुस भएको छ ।