२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

अमेरिका-इरानबीच आक्रमण रोक्ने सहमति, होर्मुज जलडमरु विवादबारे मंगलबार दोहामा वार्ता हुने

Nada
तिलु शर्मा पौडेल
२०८३ असार १५ गते १४:१४
Shares
अमेरिका-इरानबीच आक्रमण रोक्ने सहमति, होर्मुज जलडमरु विवादबारे मंगलबार दोहामा वार्ता हुने

दोहा कतार : अमेरिका र इरानले एक अर्कामाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्ने सहमति गरेका छन् । दुई देशबीच होर्मुज जलडमरु सम्बन्धी विवाद समाधानका लागि मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता हुने अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

ncell

अमेरिकी समाचार संस्था एक्सोइसका अनुसार दुवै पक्षले सबै प्रकारका सैन्य गतिविधि रोक्ने निर्णय गरेका हुन् । अमेरिकी अधिकारीहरूले वार्ता जारी रहुन्जेल दुवै पक्ष "हालका लागि" संयमपूर्वक अघि बढ्ने तथा जलडमरू मार्फत जहाजहरूको आवतजावत निर्बाध रूपमा सञ्चालन हुने बताएका छन् । करिब ११ दिनअघि भएको युद्ध विराम पछिल्ला केही दिनयता पुनः तनावपूर्ण बनेको थियो । दुवै पक्षबाट पुनः आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे युद्ध पुनः सुरु गरेर "काम पूरा गर्ने" चेतावनी दिएका थिए ।

तनावको मुख्य कारण युद्ध अन्त्यका लागि भएको समझदारी पत्र (एमओयू) को फरक–फरक व्याख्या रहेको बताइएको छ । उक्त समझदारीअनुसार इरानले होर्मुज जलडमरू मार्फत व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएको थियो भने त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाएको थियो । गत साता स्विट्जरल्यान्डमा भएको वार्ताका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको टोली र इरानी प्रतिनिधिमण्डलबिच अमेरिकी सेना र इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) बिच प्रत्यक्ष सम्पर्क (हटलाइन) स्थापना गर्ने सहमति भएको थियो ।

उक्त हटलाइनमार्फत जलडमरू हुँदै हुने समुद्री यातायातको समन्वय गर्ने योजना बनाइएको थियो । तर शनिवारसम्म पनि उक्त हटलाइन सञ्चालनमा आउन नसकेको र त्यसबिच इरानले जहाजहरूले आफ्नो आवतजावत समन्वय गरेर मात्र अघि बढ्नुपर्ने अडान दोहोर्‍याएपछि विवाद फेरि चर्किएको थियो । सुरुमा स्विट्जरल्यान्डमा इरानको आणविक कार्यक्रमलाई केन्द्रमा राखेर तय गरिएको वार्ता पछिल्लो तनावका कारण कतारको दोहामा सारिएको हो । अब हुने छलफलको मुख्य एजेन्डा होर्मुज जलडमरूमा सुरक्षित समुद्री आवागमन सुनिश्चित गर्ने विषय रहने जनाइएको छ । अमेरिकी प्राविधिक टोलीका प्रमुख निक स्टुअर्ट पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ । यद्यपि यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित खबर