
काठमाडौँ : अमेरिकामा प्राविधिक समस्याका कारण रोकिएका हवाई उडान पुनः सञ्चालनमा आएका छन् । अधिकारीहरूका अनुसार एयर ट्राफिक कन्ट्रोल प्रणालीका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा उपकरणहरूले काम गर्न छाडेपछि हवाई सेवा प्रभावित भएको थियो ।
यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८:१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने उनले बताएका छन् ।
डफीका अनुसार हवाई ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण उडानहरू रोक्नुपरेको थियो । घटनाको एक दिनअघि मात्रै अमेरिकी सरकारले उक्त प्रणाली आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो ।
यसैबीच, होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण नरहेको स्पष्ट पारेका छन् । उनले माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग पनि घटनाको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
यद्यपि, सुरक्षा निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ । अधिकारीहरूले हवाई यात्रा सुरक्षित रहेको भन्दै यात्रुहरूलाई आश्वस्त पारेका छन् ।