
काठमाडौं : बंगलादेशको गोपालगन्जमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेपछि सरकारले जिल्लाका दुई उच्च अधिकारीलाई पदबाट हटाएको छ ।
आइतबार सरकारले गोपालगन्जका उपआयुक्त मोहम्मद आरिफ उज जमान र प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई जिम्मेवारीबाट हटाएको हो ।
भारतमा रहेकी शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै अवामी लिगका नेता तथा समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा पार्टीको जिल्ला कार्यालय कब्जा गरी तोडफोड गर्नुका साथै जुलाई स्मारक र प्रहरीको एउटा गाडीमा आगजनी गरिएको थियो । प्रदर्शनकारीले टायर बालेर सडकसमेत अवरुद्ध गरेका थिए ।
सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि शेख हसिनाको सरकार ढलेको थियो। त्यसपछि उनी भारतमा बस्दै आएकी छन् । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बरमा प्रदर्शनकारीमाथि भएको दमनलाई मानवताविरुद्धको अपराध ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् ।
अन्तरिम सरकारले अवामी लिगका गतिविधिमाथि प्रतिबन्ध लगाए पनि पार्टीका नेता तथा समर्थकले हसिनाको स्वदेश फिर्तीको माग गर्दै आन्दोलन जारी राखेका छन् । आगामी नोभेम्बर १९ मा हुने भनिएको आन्दोलनको तयारीस्वरूप गोपालगन्जमा प्रदर्शन गरिएको बताइएको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीका अनुसार गोपालगन्जमा १ हजार ३५० प्रहरी परिचालन गरिएको थियो भने सीमा सुरक्षा बल बंगलादेशका ६ प्लाटुनसमेत खटाइएको थियो ।
यसैबीच, बंगलादेश सरकारले हसिनालाई भारतबाट सुपुर्दगी गरी स्वदेश फर्काउने विषयमा पनि पहल गरिरहेको छ । भारतले सुपुर्दगीसम्बन्धी अनुरोध प्राप्त भएको पुष्टि गरे पनि यसबारे निर्णय सार्वजनिक गरेको छैन ।
गोपालगन्जको घटनाबारे प्रधानमन्त्री तारिक रहमानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको बताइएको छ । सरकारले जिल्लाको सुरक्षा अवस्था निरन्तर निगरानीमा राख्ने र आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन बढाउने जनाएको छ ।