२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

भग्नावशेषमुनि मृत्युसँग जुधिरहेकी आमालाई १८ दिनको शिशुले दिएको बाँच्ने आधार

भेनेजुएला भूकम्प : भग्नावशेषबाट १८ दिनको बच्चा र आमाको जीवितै उद्धार

Nada
२०८३ असार १५ गते १७:२२
Shares
भग्नावशेषमुनि मृत्युसँग जुधिरहेकी आमालाई १८ दिनको शिशुले दिएको बाँच्ने आधार

काठमाडौं : भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा हालसम्म १ हजार ४ सय ५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ र दशौं हजार अझै बेपत्ता छन् । मृत्यु र विनाशको यो कहालीलाग्दो वातावरणबीच एउटा यस्तो चमत्कार भएको छ, जसले सारा संसारलाई भावुक बनाएको छ । १८ दिनको एउटा सानो शिशुले कसरी आफ्नी आमालाई भग्नावशेषमुनि मृत्युसँग लड्न र जीवित रहन मद्दत गर्‍यो भन्ने कथा अहिले चर्चाको विषय बनेको छ ।

ncell

ला गुइराको तटीय क्षेत्रमा रहेको आफ्नो आठौं तलाको अपार्टमेन्टमा दयाना पटिनो भाँडा माझ्दै थिइन्, जब जमिन जोडले हल्लिन थाल्यो । उनलाई लागेको थियो यो सामान्य धक्का मात्र हो, तर क्षणभरमै सबै कुरा भताभुङ्ग भयो ।

आफ्नो १८ दिनको छोरा, जुआन डेभिडलाई काखमा च्याप्दाच्याप्दै उनी कङ्क्रिटको थुप्रोमुनि परिइन् । 'मलाई आफू उडिरहेको जस्तो महसुस भयो, त्यसपछि म माटो र फोहोरको खाडलमा डुब्दै गएको अनुभव भयो,' उनले बीबीसीसँग भनिन् । भग्नावशेषमा पुरिँदा उनको बायाँ खुट्टा कङ्क्रिटको ढिक्कामुनि थिचिएको थियो भने टाउको ढुंगामा ठोक्किएको थियो ।

अन्धकार र चिस्यानले भरिएको भग्नावशेषभित्र दयानासँग केवल उनको १८ दिनको छोरा थियो । उनले आफ्नो छोरालाई नै बाँच्ने मुख्य प्रेरणा बनाइन् । उनले भनिन्, 'जबसम्म ऊ जीवित थियो, म पनि जीवित रहने थिएँ । म पटक-पटक उसको नाक छुन्थें र ऊ सास फेरिरहेको छ भन्ने सुनिश्चित गर्थेँ ।'

पीडा र त्रासका बीच उनले आफ्नो ऊर्जा खेर नफाल्ने निर्णय गरिन् । बाहिरबाट मानिसहरूको आवाज वा पाइलाको चाप नसुनेसम्म नचिच्याउने संकल्प गर्दै उनी आफ्नो शिशुलाई छातीमा टाँसेर बसिन् । सोही क्रममा भग्नावशेषमुनि उनले एउटा बाइबल फेला पारिन्, जसले उनलाई थप आशा र शक्ति प्रदान गर्‍यो ।

धेरै समयको पर्खाइपछि उनले आफ्नै दाजुले बाहिरबाट उनको नाम बोलाइरहेको सुनिन् । 'मैले आफ्नो फोक्सोको सम्पूर्ण शक्ति लगाएर चिच्याएँ- म यहाँ छु,' दयानाले सम्झिन् । उनका दाजुले उनलाई बाहिर ननिकालेसम्म नछोड्ने कसम खाए र अन्ततः बिहीबार राति आमा र छोरा दुवैको जीवितै उद्धार गरियो ।

अस्पतालमा उपचाररत दयानाको खुट्टामा चोट लागेको छ भने शिशु जुआन डेभिड भने सामान्य चोटपटकका साथ सुरक्षित छन् ।

दयानाका पति गेर्सनले जब आफ्नो भत्किएको घर देखे, उनलाई लागेको थियो कि अब सबै सकियो । तर जब उनले आफ्नी पत्नी र सन्तानलाई जीवितै बाहिर निकालेको देखे, उनी भावविह्वल भए । उद्धारको भिडियोमा उनी आँखा चिम्लेर आकाशतर्फ हेर्दै आफ्नो छोरालाई अङ्गालो मारिरहेको देखिन्छन् । 'यो वर्णन गर्न नसकिने क्षण थियो । मलाई लागेको थियो उनीहरू मरे । तर जब छोरालाई देखें, मलाई लाग्यो मेरो आफ्नै पुनर्जन्म भयो,' गेर्सनले भने ।

भूकम्पले उनीहरूको घर र सबै भौतिक सम्पत्ति नष्ट गरिदिएको छ । घरको कुकुर अझै बेपत्ता छ । यद्यपि, गेर्सन र दयाना भन्छन्, 'हामीले सबै गुमायौं, तर हामी यहाँ छौं । हामी फेरि सबै कुरा सुरुदेखि निर्माण गर्नेछौं ।'

अहिले सानो जुआन डेभिड भेनेजुएलामा आशा र जीवनको प्रतीक बनेका छन् ।

सम्बन्धित खबर