
दोहा : कतार र पाकिस्तानको संयुक्त मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच दोहामा सम्पन्न छुट्टाछुट्टै वार्तामा सकारात्मक प्रगति भएको छ । दुवै पक्षले इस्लामावाद समझदारी कार्यान्वयनका विषयमा छलफल अघि बढेको जनाउँदै इरानका पूर्व सर्वोच्च नेता अलि खामेनेईको अन्त्येष्टि सम्पन्न भएपछि पुनः वार्ता गर्ने सहमति गरेका छन् । खामेनेईको अन्त्येष्टि कार्यक्रम जुलाई ४ देखि ९ सम्म तेहरान, कोम, नजफ, करबला र मशहदमा सञ्चालन हुने तय भएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार डा. माजिद अल–अन्सारीले सामाजिक सञ्जाल मार्फत वार्तामा “लेक लुसेर्न शिखर सम्मेलन” का उपलब्धिलाई आधार बनाएर उल्लेखनीय प्रगति भएको जानकारी दिएका छन् । उनका अनुसार अर्को चरणको वार्ता अन्त्येष्टि कार्यक्रम सकिए लगत्तै आयोजना गरिनेछ । दुई दिनसम्म चलेको छलफलमा मुख्य रूपमा हर्मुज जलडमरू हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा तथा इरानलाई उपलब्ध गराइने आर्थिक प्रोत्साहनका विषयमा केन्द्रित भएर छलफल भएको थियो । यी विषयहरू गत जुनमा सम्पन्न इस्लामाबाद समझदारीका महत्वपूर्ण अंश मानिन्छन् ।
वार्ताका क्रममा अमेरिकी र इरानी प्रतिनिधिहरूबिच प्रत्यक्ष भेट नभई कतार र पाकिस्तानका मध्यस्थकर्ता मार्फत छुट्टाछुट्टै संवाद भएको बताइएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले यसलाई उच्चस्तरीय वार्ता भने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र विशेष दूत स्टिभ विटकोफ बैठकमा सहभागी नभएको बताइएको छ । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले भने वार्ता सम्पन्न भएको पुष्टि गरेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानको आणविक कार्यक्रमसम्बन्धी विषय आगामी चरणको वार्तामा समावेश हुने संकेत गरेका छन् । दोहामा भएको यो वार्ता जुन २१ मा स्विट्जरल्यान्डको लेक लुसेर्न क्षेत्रमा सम्पन्न पहिलो प्रत्यक्ष उच्चस्तरीय अमेरिका–इरान वार्तापछि भएको हो । उक्त बैठकले फेब्रुअरी अन्त्यतिर सुरु भएको द्वन्द्व अन्त्य गर्न जुन १८ मा हस्ताक्षर गरिएको १४ बुँदे इस्लामाबाद समझदारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन गरेको थियो ।
विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने हर्मुज जलडमरूको अवस्था अझै पूर्ण रूपमा सामान्य भई नसकेको बताइएको छ। केही जहाज पुन सञ्चालन भए पनि पछिल्ला दिनमा अमेरिका र इरानबिच आक्रमण–प्रत्याक्रमण जारी रहेको तथा इरानी सञ्चारमाध्यमले एक विदेशी कन्टेनर जहाज निर्धारित मार्गबाहिरको क्षेत्रमा अड्किएको जनाएको छ।
युरोपका केही मुलुकले जलमार्गमा बिछ्याइएका बारुदी सुरुङ हटाउन सहयोगको प्रस्ताव गरे पनि जर्मनीका रक्षा मन्त्री बोरिस् पिस्टोरियसले इरानको असहयोगका कारण जर्मनी सहभागी नहुने बताएका छन् । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध पुनः सुरु हुने सम्भावना कम रहेको प्रतिक्रिया दिएका छन्। ट्रम्पको अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार महिनायताकै न्यून स्तरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कतार र पाकिस्तानले संयुक्त रूपमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै युद्ध विरामलाई औपचारिक कूटनीतिक वार्तामा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। यससँगै क्षेत्रीय कूटनीतिमा कतारको तटस्थ मध्यस्थकर्ताको छवि थप बलियो बनेको विश्लेषण गरिएको छ।