
ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित गरेको छ । असार १० गते नवौं नगरसभामा प्रस्तुत गरिएको बजेट विस्तृत छलफलपछि असार १७ गतेको बैठकबाट स्वीकृत गरिएको हो ।
महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले बजेटले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताए ।
उनका अनुसार साउन १ गतेदेखि चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ । यस कार्यक्रमअन्तर्गत बिरामी नगरवासीको घरमै चिकित्सकसहितको एम्बुलेन्स पुगेर प्रारम्भिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । उनले यसलाई महानगरको नयाँ र प्रभावकारी स्वास्थ्य कार्यक्रमका रूपमा वर्णन गरे ।
नगरप्रमुख महर्जनले वातावरणीय क्षयीकरणका कारण बढिरहेका चुनौतीलाई ध्यानमा राख्दै हरियाली प्रवर्द्धनलाई पनि उच्च प्राथमिकतामा राखिएको बताए ।
महानगरले यसअघि नै ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्धको खोप, घर–घरमा स्वास्थ्य परीक्षण, महिलामा पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा आवश्यक उपचारजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
उपप्रमुख बज्राचार्यले सीमित स्रोत–साधनका बाबजुद नगरवासीका बढ्दो अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तयार गरिएको बताइन् ।
आगामी आर्थिक वर्षको कुल बजेटमध्ये ५६.६ प्रतिशत रकम पुँजीगत खर्चका लागि र ४३.४ प्रतिशत रकम चालु खर्चका लागि विनियोजन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन् ।