२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

पाँच महिनापछि कतार–इरानबीच समुद्री व्यापार पुनः सुचारु

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २२ गते १५:२६
Shares
पाँच महिनापछि कतार–इरानबीच समुद्री व्यापार पुनः सुचारु

दोहा : करिब पाँच महिनादेखि रोकिएको कतार र इरानबीचको समुद्री कार्गो सेवा पुनः सञ्चालनमा आएको छ । कतारको अल रुवाइ: बन्दरगाह र इरानको दयेर बन्दरगाहबीच मालवाहक जहाजमार्फत हुने कार्गो ढुवानी दुवै देशका सम्बन्धित निकायबिच भएको समन्वयपछि पुनः सुरु गरिएको हो । दोहास्थित इरानी दूतावास र कतारी अधिकारीहरूको समन्वयमा समुद्री व्यापार पुनः सञ्चालन गरिएको हो ।

ncell

यससँगै दुई देशबिचको वस्तु आयात–निर्यात फेरि नियमित हुने अपेक्षा गरिएको छ । इरानका वाणिज्य सहचारी अब्बास अब्दोलखानीले समुद्री सेवा पुनः सञ्चालनले दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यसले ढुवानी खर्च घटाउनुका साथै व्यापारिक कारोबारको परिमाण वृद्धि गर्न सहयोग पुग्नेछ।

कतार र इरानबीच समुद्री मार्ग हुँदै खाद्यान्न, कृषि उत्पादन, निर्माण सामग्री तथा अन्य उपभोग्य वस्तुको व्यापार हुँदै आएको छ । सेवा पुनः सञ्चालनसँगै व्यवसायीहरूले सामान छिटो र कम लागतमा ढुवानी गर्न सक्ने अपेक्षा गरिएको छ । यद्यपि, करिब पाँच महिनासम्म समुद्री सेवा किन स्थगित भएको थियो भन्ने विषयमा कतार वा इरानका अधिकारीहरूले औपचारिक रूपमा विस्तृत जानकारी दिएका छैनन् ।

समुद्री व्यापार पुनः सञ्चालनलाई फारसी खाडी क्षेत्रको व्यापारिक गतिविधि र कतार–इरान आर्थिक सहकार्यलाई थप गति दिने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा दुवै देशबिच ऊर्जा, खाद्य आपूर्ति तथा व्यापारिक सहकार्यका विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार हुँदै आएको छ ।

सम्बन्धित खबर