२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

हर्मुज जलडमरूमा कतारको एलएनजी ट्यांकरमाथि अज्ञात प्रक्षेप्यबाट आक्रमण

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २३ गते १७:०९
Shares
हर्मुज जलडमरूमा कतारको एलएनजी ट्यांकरमाथि अज्ञात प्रक्षेप्यबाट आक्रमण

दोहा : कतारको स्वामित्वमा रहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानी गर्ने ट्यांकर अल रेक्यात हर्मुज जलडमरूवाट बाहिरिने क्रममा अज्ञात प्रक्षेप्यको निशानामा परेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था ब्लूमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार जुलाई ७ को बिहान सबेरै भएको उक्त घटनामा जहाजमा क्षति पुगे पनि कुनै मानवीय हताहत भएको छैन ।

ncell

समाचारअनुसार उक्त एलएनजी ट्यांकर कतारको सरकारी स्वामित्वको समुद्री ढुवानी कम्पनी नकिलातको स्वामित्वमा रहेको छ । जहाजले यसै महिनाको सुरुवातमा कतारको रस लाफान औद्योगिक बन्दरगाहबाट एलएनजी कार्गो लोड गरेको थियो । घटना हुँदा जहाज आफ्नो अवस्थिति तथा पहिचान देखाउने स्वचालित ट्रान्सपोन्डर बन्द गरेर हर्मुज जलडमरू पार गरिरहेको बताइएको छ ।

यता युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्सले पनि अज्ञात प्रक्षेप्यबाट ट्यांकरमा प्रहार भएको पुष्टि गरेको छ । युकेएमटीओका अनुसार प्रहारबाट जहाजमा केही क्षति पुगेको भए पनि समुद्रमा इन्धन चुहावट वा अन्य प्रकारको वातावरणीय प्रदूषणसमेत नभएको जनाएको छ । यद्यपि, युकेएमटीओले प्रभावित जहाजको नाम सार्वजनिक गरेको छैन ।

ब्लूमबर्गले भने घटनामा परेको जहाज अल रेकाय्यात नै भएको दाबी गरेको छ । यसबारे कतारका सम्बन्धित निकाय वा नकिलातले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । विश्वको सबैभन्दा व्यस्त ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलडमरू हुँदै विश्वको ठुलो परिमाणमा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) अन्तर्राष्ट्रिय बजारमा आपूर्ति हुँदै आएको छ । विशेषगरी कतारबाट निर्यात हुने अधिकांश एलएनजी यही मार्ग भएर एसिया, युरोप तथा अन्य मुलुकमा पुग्ने गर्दछ ।

पछिल्लो समय मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौतीका कारण हर्मुज जलडमरू हुँदै सञ्चालन हुने जहाजहरूको सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ । यस घटनाले पनि समुद्री सुरक्षा र विश्व ऊर्जा आपूर्ति प्रणालीप्रति नयाँ चिन्ता थपिएको विश्लेषण गरिएको छ । सम्बन्धित निकायहरूले घटनाको प्रकृति र जिम्मेवार पक्षबारे अनुसन्धान जारी राखेका छन् ।

ताजा खबर

सम्बन्धित खबर