२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

जयनगर-मौलापुर-वीरगञ्ज सडक कालोपत्रेको बाटो खुल्यो

Nada
सागर संगम ठाकुर
२०८३ असार २५ गते २१:००
Shares
जयनगर-मौलापुर-वीरगञ्ज सडक कालोपत्रेको बाटो खुल्यो

रौतहट : रौतहटको जयनगर–मौलापुर हुँदै वीरगञ्ज जोड्ने मुख्य सडक निर्माणमा करिब एक दशकदेखि अवरोध बन्दै आएको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित विवादित कदमको रुख अन्ततः काटिएको छ । रुख हटाइएपछि लामो समयदेखि रोकिएको जयनगर–मौलापुर–वीरगञ्ज सडकको कालोपत्रे निर्माण कार्यले अब गति लिने अपेक्षा गरिएको छ ।

ncell

देवाही गोनाही–९ स्थित वडा कार्यालय नजिक रहेको उक्त रुख सडक विस्तारको प्रमुख बाधकका रूपमा रहेको थियो । स्थानीय समुदाय, युवाहरू, प्रहरी प्रशासन र सम्बन्धित पक्षबीच भएको समन्वयपछि इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीको उपस्थितिमा रुख कटान गरिएको हो ।

स्थानीयका अनुसार जैपाली साह र कृपाली साहले विभिन्न कारण देखाउँदै करिब १० वर्षदेखि रुख हटाउने तथा सडक विस्तार गर्ने कार्यमा अवरोध गर्दै आएका थिए । सडक डिभिजन कार्यालयले पटक–पटक रुख हटाउन र सडक निर्माणमा सहयोग गर्न आग्रह गरे पनि सहमति जुट्न नसक्दा सडक विस्तारको काम वर्षौंदेखि रोकिएको थियो ।

सडक डिभिजन कार्यालयले सडकलाई मापदण्डअनुसार ७० फिट चौडा बनाउनुपर्ने भएकाले रुख हटाउनका साथै आवश्यक निजी जग्गा उपलब्ध गराउन आग्रह गरेको थियो । तर सम्बन्धित पक्षले आफ्नो जग्गाबाट कुनै भाग उपलब्ध नगराउने अडान लिएपछि सडक विस्तार प्रक्रिया अघि बढ्न सकेको थिएन । त्यसकै असर कालोपत्रे निर्माणमा समेत परेको थियो ।

स्थानीयका अनुसार विवादित रुखले सडक निर्माणमा मात्र नभई विद्युत् आपूर्तिमा पनि समस्या निम्त्याउँदै आएको थियो । हावाहुरी र वर्षायाममा रुखका हाँगाहरू विद्युत् लाइनमा ठोक्किने गर्दा पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको थियो । सम्बन्धित निकायले रुख हटाउनुपर्ने निष्कर्ष निकाले पनि लामो समयसम्म कार्यान्वयन हुन सकेको थिएन ।

No description available.

रुख रहेको स्थान सडकको तीव्र मोडमा पर्ने भएकाले त्यहाँ दुर्घटनाको जोखिम पनि बढ्दै गएको स्थानीयको भनाइ छ । साँघुरो सडक, मोड र रुखका कारण विशेषगरी रातिको समयमा तथा वर्षायाममा सवारीसाधन सञ्चालन जोखिमपूर्ण हुने गरेको थियो । सोही स्थानमा विगतमा सामान्य प्रकृतिका सवारी दुर्घटनासमेत भएको स्थानीयले बताएका छन् ।

सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीय युवा नेता सुमित गुप्ताको नेतृत्वमा सयौँ युवाले गत असार २३ गते सडक अवरुद्ध गरेका थिए । त्यसपछि देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले तत्काल सडक मर्मत गर्ने प्रतिबद्धता जनाएपछि सडक सञ्चालनमा आएको थियो । तर मर्मतले मात्रै दीर्घकालीन समाधान नहुने भन्दै आन्दोलनकारीले पुनः सडक अवरोध गरेपछि विवादले व्यापक चर्चा पाएको थियो ।

अन्ततः प्रहरी प्रशासनको समन्वय र स्थानीय तहको सक्रियतामा विवादित रुख हटाइएसँगै सडक निर्माणको सबैभन्दा ठूलो अवरोध समाप्त भएको छ । स्थानीयवासीले अब जयनगर–मौलापुर–वीरगञ्ज सडकको कालोपत्रे निर्माण कार्य तत्काल अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार सडक कालोपत्रे सम्पन्न भएपछि देवाही गोनाही, मौलापुर, जयनगरलगायत आसपासका बस्तीका नागरिकले सहज आवागमनको सुविधा पाउनेछन् । साथै वीरगञ्जसँगको यातायात सम्पर्क थप प्रभावकारी बन्नुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले वर्षौँदेखि विकास निर्माणमा अवरोध बनेको विवाद अन्त्य भएको उल्लेख गर्दै अब सडक डिभिजन कार्यालयले थप ढिलाइ नगरी कालोपत्रे निर्माण कार्यलाई तीव्रता दिई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर