२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जीवन रूपान्तरणको मार्ग : ‘कर्मपथ

Nada
रामहरि कार्की
२०८३ असार २७ गते ०६:००
Shares
जीवन रूपान्तरणको मार्ग : ‘कर्मपथ

आजको युग तीव्र प्रतिस्पर्धा, अस्थिरता, मानसिक तनाव र निरन्तरको भागदौडले भरिएको छ । मानिस बाह्य सफलता, प्रतिष्ठा र भौतिक उपलब्धिको खोजीमा निरन्तर दौडिरहेको छ । तर, यही यात्रामा उसले आफ्नै आत्मा, संवेदना र जीवनको वास्तविक उद्देश्यलाई बिस्तारै गुमाउँदै गएको अनुभूति हुन्छ । प्रविधिको विकासले संसारलाई नजिक ल्याए पनि मानिसको मन भने झन् एक्लिँदै गएको देखिन्छ । यस्तो जटिल र अन्योलपूर्ण समयमा लेखक सत्यराज जोशीद्वारा लिखित ‘कर्मपथ’ प्रेरणादायी पुस्तक मात्र नभएर जीवन रूपान्तरणको मार्गदर्शक कृतिका रूपमा उभिएको छ ।

ncell

यो पुस्तकको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसले ‘कर्म’लाई कुनै रहस्यमय, अदृश्य वा भाग्यसँग जोडिएको अवधारणाका रूपमा होइन, दैनिक जीवनका व्यवहार, सोच, निर्णय र बानीसँग प्रत्यक्ष सम्बन्धित जीवन्त सत्यका रूपमा प्रस्तुत गर्नु हो । मानिसको भविष्य कुनै चमत्कार वा संयोगले निर्माण हुँदैन, बरु उसले प्रत्येक दिन गर्ने साना–साना सचेत कर्महरूले नै उसको जीवनको दिशा निर्धारण गर्छन् भन्ने लेखकको विश्वास छ । हामीले मनमा राख्ने विचार, बोल्ने शब्द, गर्ने व्यवहार र अपनाउने बानीहरू नै भविष्यका बीउ हुन् । ती बीउहरू समयसँगै चरित्रमा रूपान्तरण हुन्छन् र चरित्रले अन्ततः जीवनको मार्ग तय गर्छ । यही कारण ‘कर्मपथ’ आजको पुस्ताका लागि अत्यन्त सान्दर्भिक, प्रेरणादायी र समयसापेक्ष कृति बनेको छ ।

पुस्तकको अर्को सशक्त पक्ष यसको भाषा र प्रस्तुति शैली हो । लेखकले गम्भीर दार्शनिक विषयलाई अत्यन्त सरल भाषामा प्रस्तुत गरेका छन् । यो पुस्तक पढ्दा लेखक उपदेशक नभई सहयात्रीजस्तो लाग्छन् । उनले जीवनका संघर्ष, अनुभव र आत्मबोधका कुरालाई सरल रूपमा उनेका छन्, त्यसैले पुस्तक पाठकको मनसँग सजिलै जोडिन्छ । यही आत्मीयताले यो पुस्तकलाई प्रेरणामूलक लेखनमा मात्र सीमित राख्दैन, बरु पाठकलाई आफ्नै जीवनबारे सोच्न र आफ्ना अनुभवहरूसँग संवाद गर्नसमेत उत्प्रेरित गर्छ ।

‘कर्मपथ’को सन्देश सरल, तर गहिरो छ । जीवनमा परिवर्तन एकैपटक आउँदैन, त्यो साना र निरन्तरका प्रयासबाट सुरु हुन्छ । मानिसले अरूसँग कसरी व्यवहार गर्छ, आफ्नो समय कसरी उपयोग गर्छ, आफ्ना भावनालाई कसरी नियन्त्रण गर्छ र आफ्नो लक्ष्य कति स्पष्ट राख्छ भन्ने कुराले नै उसको भविष्य निर्धारण गर्छ । लेखकले विशेष गरी युवापुस्तालाई सम्बोधन गर्दै भविष्य टाढाको सपना मात्र नभएर आजकै कर्मको प्रतिफल हो भन्ने सशक्त सन्देश दिएका छन् ।

यस पुस्तकको अर्को उल्लेखनीय विशेषता पूर्वीय दर्शन र आधुनिक मनोविज्ञानबीच गरिएको सन्तुलित समन्वय हो । पूर्वीय चिन्तनले कर्म, आत्मचेतना, धैर्य र नैतिकताको महत्व सिकाउँछ भने आधुनिक मनोविज्ञानले मानिसका बानी, सोच र व्यवहारले मानसिक संरचना कसरी निर्माण गर्छन् भन्ने व्याख्या गर्छ । लेखकले यी दुई धारलाई विरोधी रूपमा नभई एक–अर्काका पूरक शक्तिका रूपमा प्रस्तुत गरेका छन् । यही कारण पुस्तक आध्यात्मिक चिन्तनमा मात्र सीमित रहँदैन, यसले व्यावहारिक जीवन व्यवस्थापन र आत्मविकासको मार्ग पनि देखाउँछ ।

विशेषतः पुस्तकमा दैनिक बानीको शक्तिमाथि गरिएको चर्चा अत्यन्त प्रभावशाली छ । आज अधिकांश मानिस परिवर्तन त चाहन्छन्, तर तुरुन्तै ठुलो उपलब्धि खोज्छन् । लेखक भने परिवर्तनको वास्तविक आधार नियमित र साना अभ्यासमा रहेको तर्क प्रस्तुत गर्छन् । पुस्तकले सकारात्मक सोचको महत्व बुझाउँदै आत्मचिन्तन गर्न, अनुशासनमा रहन, समयको सही उपयोग गर्न, कृतज्ञ हुने बानीको विकास गर्न तथा अरूप्रति करुणा र सम्मान राख्न प्रेरित गर्छ । यी बानी सामान्य देखिए पनि व्यक्तित्व निर्माणमा निकै महत्वपूर्ण मानिन्छन् ।

पुस्तकमा असफलता, पीडा र संघर्षलाई हेर्ने दृष्टिकोण पनि अत्यन्त प्रेरणादायी छ । सामान्यतया, मानिसहरूले कठिनाइलाई अभिशाप वा अवरोधका रूपमा हेर्ने गर्छन्, तर ‘कर्मपथ’ले तिनलाई जीवनका पाठका रूपमा बुझ्न सिकाउँछ । प्रत्येक असफलताले कुनै न कुनै शिक्षा बोकेको हुन्छ र प्रत्येक पीडाले आत्मबोधको सम्भावना लुकाएको हुन्छ भन्ने विचार पुस्तकको केन्द्रमा रहेको छ । लेखकले संघर्षबाट भाग्न होइन, त्यसलाई बुझ्न र त्यसबाट आफूलाई अझ परिपक्व बनाउन प्रेरित गरेका छन् । यही दृष्टिकोणले पुस्तकलाई प्रेरणात्मक मात्र नभएर गहिरो मनोवैज्ञानिक महत्व बोकेको कृतिमा रूपान्तरण गरेको छ ।

सम्बन्धहरूको विषयमा पनि पुस्तकको दृष्टिकोण सशक्त र समयोचित छ । आजको समाजमा सम्बन्धहरू क्रमशः स्वार्थ, असहिष्णुता र अस्थिरताले प्रभावित भइरहेका छन् । यस्तो अवस्थामा लेखकले सचेत व्यवहारको महत्वलाई जोड दिएका छन् । सम्मान, धैर्य, करुणा, इमानदारी र जिम्मेवारीलाई स्वस्थ सम्बन्धको आधार मानेर पुस्तकले पारिवारिक, सामाजिक तथा व्यावसायिक जीवनमा नैतिक आचरणको आवश्यकता स्पष्ट पारेको छ ।

यद्यपि पुस्तकका केही अंशहरू आदर्शवादी देखिन सक्छन् । समाजका जटिल आर्थिक, राजनीतिक र संरचनागत समस्याहरूको तुलनामा व्यक्तिगत कर्मलाई बढी महत्व दिइएको अनुभूति कतिपय पाठकलाई हुन सक्छ । तर पनि पुस्तकको उद्देश्य गहिरो वैचारिक विवाद सिर्जना गर्नु नभएर व्यक्तिलाई आत्मचिन्तन, आत्मअनुशासन र सकारात्मक जीवनदृष्टितर्फ प्रेरित गर्नु भएकाले यो पक्ष स्वाभाविकै देखिन्छ ।

भाषिक दृष्टिले पनि पुस्तक अत्यन्त प्रभावकारी छ । सरल शैलीले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ । लेखकको भाषामा दार्शनिक गहिराइ भए पनि अनावश्यक जटिलता छैन । यही कारण विद्यार्थी, युवा, शिक्षक, अभिभावक तथा सामान्य पाठक सबैका लागि यो पुस्तक सहज र उपयोगी बन्न पुगेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, ‘कर्मपथ’ले मानिसलाई आफ्नो जीवनप्रति जिम्मेवार बन्न सिकाउँछ । यसले भाग्यलाई दोष दिने प्रवृत्तिभन्दा माथि उठेर आफ्नै कर्मलाई परिवर्तनको आधार बनाउन प्रेरित गर्छ । भविष्य आफैं निर्माण हुने वस्तु होइन, यो त आजका सचेत कर्महरूको परिणाम हो भन्ने नै पुस्तकको मूल सन्देश हो ।

तसर्थ, ‘कर्मपथ’ पढेर थन्क्याइने पुस्तक होइन, यो जीवनलाई नयाँ दृष्टिले हेर्न बाध्य बनाउने कृति हो । आजको अन्योल, तनाव र दिशाहीनताको समयमा यसले पाठकलाई अत्यन्त सरल, तर जीवनपरिवर्तनकारी सन्देश दिन्छ– जब मानिस आफ्ना कर्महरू परिवर्तन गर्न थाल्छ, तब उसको कर्मफल परिवर्तन हुन्छ । जब कर्मफल परिवर्तन हुन्छ, जीवनको सम्पूर्ण दिशा नै बदलिन थाल्छ ।

(कार्की, नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष हुन् ।)

सम्बन्धित खबर