२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

गौरमा श्री जगन्नाथ रथयात्रामा हजारौं श्रद्धालुको सहभागिता

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन १० गते २१:२७
Shares
गौरमा श्री जगन्नाथ रथयात्रामा हजारौं श्रद्धालुको सहभागिता

रौतहट : जिल्लाको सदरमुकाम गौर नगरपालिकामा अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) मन्दिरको आयोजनामा भगवान श्री जगन्नाथको भव्य तथा ऐतिहासिक रथयात्रा उत्साहका साथ सम्पन्न भएको छ। जय जगन्नाथ हरे राम, हरे कृष्णको गुञ्जायमान जयघोषका साथ निकालिएको रथयात्राले सम्पूर्ण गौर नगर क्षेत्रलाई भक्तिमय र पवित्र बनाएको थियो।

भगवान श्री जगन्नाथको दिव्य दर्शन नगरवासी तथा सम्पूर्ण भक्तजनले आफ्नै घरआँगन नजिकै पाउन सकून् र प्रभुको असीम कृपा एवं आशीर्वाद सबैमा प्राप्त होस् भन्ने पवित्र उद्देश्यका साथ नगर परिक्रमा कार्यक्रम आयोजना गरिएको इस्कोन गौरले जनाए ।

रथयात्रा गौर नगरका मुख्य मुख्य भागहरू गौर भंसार, ट्रान्समिटर चोक, नेपाल लौज, अदालत चोक, घण्टाघर चोक, तथा गल्लीहरूको परिक्रमा गर्दै पूजा–आजा र हरिनाम सङ्कीर्तनका साथ सम्पन्न भएको थियो। यात्राका क्रममा स्थान–स्थानमा श्रद्धालुहरूले रथमा विराजमान भगवान जगन्नाथ, बलदेव र सुभद्राको दर्शन गर्दै पुष्पवृष्टि गर्नुका साथै आरती अर्पण गरेका थिए। विभिन्न वर्ग, समुदाय र उमेर समूहका हजारौँ भक्तजनहरू हातमा झाँझ, मृदङ्ग र कसिताल लिएर भजन–कीर्तनमा झुमिरहेका दृश्यले नगरको वातावरणलाई अध्यात्म र सद्भावमय बनाएको थियो।

यस पावन अवसरमा कार्यक्रमको गरिमा बढाउन देश–विदेशबाट विशिष्ट अतिथि तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। काठमाडौं, वीरगन्जका साथै अमेरिकाबाट समेत विशेष रूपमा पाल्नुभएका इस्कोनका पदाधिकारी, धर्मगुरु तथा विदेशी श्रद्धालुहरूको सहभागिताले यस पटकको रथयात्रालाई थप भव्य, सभ्य र ऐतिहासिक बनाएको थियो।

रथयात्रामा सहभागी श्रद्धालुहरूलाई विभिन्न स्थानमा सर्वत, पानी तथा महाप्रसाद वितरणको व्यवस्था मिलाइएको थियो। स्थानीय सुरक्षा निकाय, नगरवासी तथा युवा स्वयंसेवकहरूको सक्रिय सहयोगमा कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजक समितिले जनाए ।

सर्वसाधारणका लागि सहज रूपमा भगवानको दर्शन गराउने र नगरमा धार्मिक सहिष्णुता, भ्रातृत्व एवं शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्यसहित सम्पन्न यस रथयात्राले गौर क्षेत्रमा धार्मिक तथा सांस्कृतिक रौनक थपेको छ।

सम्बन्धित खबर