२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

रौतहटमा ‘राजासहितको हिन्दु राष्ट्र’को पक्षमा हस्ताक्षर अभियान

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन ११ गते १७:४५
Shares
रौतहटमा ‘राजासहितको हिन्दु राष्ट्र’को पक्षमा हस्ताक्षर अभियान

रौतहट : रौतहटको सदरमुकाम गौरस्थित घण्टाघरमा ‘राजासहितको हिन्दु राष्ट्र नेपालका लागि राष्ट्रव्यापी हस्ताक्षर अभियान–२०८३’ सुरु गरिएको छ । अभियानमा स्थानीयवासी, धार्मिक अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ ।

हिन्दु सम्राट सेना गौरका नगर अध्यक्ष मनोज यादवको नेतृत्वमा सुरु गरिएको अभियानमा सहभागीहरूले स्वतःस्फूर्त रूपमा हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका थिए । कार्यक्रमस्थलमा बिहानदेखि नै धार्मिक तथा राष्ट्रवादी विचार राख्ने नागरिकहरूको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार नेपाललाई पुनः सनातन हिन्दु राष्ट्रका रूपमा स्थापित गर्ने तथा अभिभावकीय भूमिकासहितको राजसंस्था पुनर्बहालीको मागलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष मनोज यादवले नेपालको मौलिक पहिचान, सनातन धर्म, संस्कृति र राष्ट्रियता संरक्षणका लागि अभियान सुरु गरिएको बताए । उनले गौरबाट सुरु भएको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा विस्तार गरिने जानकारी दिए ।

No description available.

कार्यक्रममा बोल्ने धार्मिक तथा सामाजिक अगुवाहरूले नेपालको ऐतिहासिक पहिचान, बहुसंख्यक नागरिकको धार्मिक आस्था तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि नागरिकस्तरबाट एकताबद्ध पहल आवश्यक रहेको धारणा राखे ।

आयोजकले अभियानमार्फत नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा स्थापित गर्ने, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई सुदृढ बनाउने तथा अभिभावकीय भूमिकासहितको राजसंस्थाका पक्षमा संवैधानिक व्यवस्थाको माग गर्ने उद्देश्य राखिएको जनाएको छ । साथै, सर्वसाधारणको जनमत संकलन गरी राज्यका सम्बन्धित निकाय र शीर्ष राजनीतिक नेतृत्वसमक्ष जनभावना प्रस्तुत गर्दै राजनीतिक तथा नैतिक दबाब सिर्जना गर्ने लक्ष्यसमेत अभियानको रहेको बताइएको छ ।

हिन्दु सम्राट सेनाका अनुसार गौरबाट सुरु भएको अभियानलाई रौतहटका सबै स्थानीय तह हुँदै छिमेकी जिल्लासम्म विस्तार गरिनेछ । अभियानका क्रममा संकलन गरिएका हस्ताक्षर सम्बन्धित निकाय, संवैधानिक अंग तथा राज्यका शीर्ष राजनीतिक नेतृत्वलाई ज्ञापनपत्रसहित बुझाइने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले राष्ट्रिय एकता, दिगो शान्ति तथा नेपालको सांस्कृतिक पहिचान संरक्षणका लागि यस्ता अभियानले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित खबर