२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न पूर्व राज्यमन्त्री हुसैनको माग

Nada
२०८३ साउन ११ गते १९:५३
Shares
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न पूर्व राज्यमन्त्री हुसैनको माग

काठमाडौं : पूर्व संघीय राज्यमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको निष्पक्ष, स्वतन्त्र र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार जारी प्रेस विज्ञप्तिमार्फत उनले यति ठुलो संख्यामा गोली चल्नु सामान्य घटना नभएको उल्लेख गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएको तथा धेरै व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन् । शान्ति–सुरक्षा कायम गर्ने क्रममा नागरिक र प्रहरीबीच भएको रात्रिकालीन झडपलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ ।

हुसैनले वास्तविक दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन, घाइतेहरूको उच्चस्तरीय उपचारको व्यवस्था गर्न तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी सम्मानको साझा भूमि भएको उल्लेख गर्दै उनले धर्म, जाति वा अन्य कुनै बहानामा घृणा, हिंसा, द्वन्द्व र अशान्ति फैलाउने गतिविधि स्वीकार्य नहुने बताएका छन् । यस्ता गतिविधिमा संलग्न जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्ने उनको भनाइ छ ।

सरकारले लागू गरेको कर्फ्युको पालना गर्न, संयम अपनाउन, अफवाह र भ्रामक प्रचारबाट टाढा रहन तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यमको जिम्मेवार प्रयोग गर्न उनले सबै नागरिकलाई आग्रह गरेका छन् ।

उनले नागरिक समाज, समुदायका अगुवा तथा सरोकारवालालाई संवाद, आपसी विश्वास र सहकार्यमार्फत सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न पनि आह्वान गरेका छन् । समाजलाई विभाजनतर्फ नभई एकता, सद्भाव र शान्तितर्फ अघि बढाउन सबै पक्षले नैतिक जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

विज्ञप्तिको अन्त्यमा हुसैनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै "सामाजिक सद्भाव शान्तिको निर्विकल्प आधार हो" भन्ने सन्देश दिएका छन् ।

सम्बन्धित खबर