२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

सुनसरी घटना : विभिन्न क्षेत्रमा प्रदर्शन र आगजनी, पाँच क्षेत्रमा कर्फ्यु कायमै

Nada
तेज बन
२०८३ साउन १२ गते ११:३२
Shares
सुनसरी घटना : विभिन्न क्षेत्रमा प्रदर्शन र आगजनी, पाँच क्षेत्रमा कर्फ्यु कायमै

इटहरी : सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव दोस्रो दिन पनि साम्य हुन सकेको छैन । सोमबारदेखि अशान्त बनेको जिल्लामा मंगलबार बिहानैदेखि स्थानीयले विभिन्न स्थानमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।

प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्ग नजिकको लौकी, फूलचोक तथा इटहरीको पकली क्षेत्रमा टायर बालेर आवागमन अवरुद्ध गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार बिहान करिब २०–२५ जनाको समूहले सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरिएको छ । सुरक्षा निकायले थप अप्रिय घटना हुन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

पाँच क्षेत्रमा कर्फ्यु यथावत्, राजमार्ग क्षेत्रको मात्रै हटाइयो

कर्फ्युको अवस्थाबारे सर्वसाधारणमा अन्योल देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ सूचना जारी गर्दै स्पष्ट पारेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार सोमबार साँझ पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको भए पनि अन्य संवेदनशील क्षेत्रमा लगाइएको निषेधाज्ञा र अनिश्चितकालीन कर्फ्यु भने यथावत् रहेको छ ।

प्रशासनका अनुसार हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाभर साउन १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

यस्तै हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की तथा देवानगन्ज बजार क्षेत्रका तोकिएका सीमाभित्र अनिश्चितकालीन कर्फ्यु जारी रहेको प्रशासनले जनाएको छ । ती क्षेत्रमा सभा, जुलुस, प्रदर्शन तथा अनुमतिविना आवतजावत नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर